आफुलाई धर्मगुरु दावी गर्ने खतिवडा पक्राउ

न्युजलय १४ साउन २०८१, सोमबार १२:१८ मा प्रकाशित

काठमाडौं । आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेको अवस्थामा  खतिवडा पक्राउ परेका हुन् ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार खतिवडालाई उनकै निवासबाट पक्राउ गरेको हो । अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरिरहेका थिए । तर, प्रहरीले त्यसअघि नै पक्राउ गरेको हो ।

उनले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले उक्त भिडिओ पोस्ट गरेका थिए ।