काठमाडौ । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत लगातार चौथो जित हासिल गरेको छ । मलेसियामा सोमबार बिहान सम्पन्न खेलमा नेपाली महिला क्रिकेट टिमले कतारलाई ९ विकेटले पराजित गरेको हो ।
कतारको महिला टिमले दिएको ७५ रनको लक्ष्य पछाएको नेपालले १०.३ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि काजल श्रेष्ठले सर्बाधिक ३२ रन बनाएकी थिइन् भने सिता राना मगरले अविजित १६ रन र इन्दु बर्माले अविजित २० रन बनाएकी थिइन् ।
यसअघि पहिला ब्याटिंग गरेको कतारले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको थियो ।
यस प्रतियोगितामा नेपालको यो चौथो जित हो । नेपालले यसअघि बहराइन, भुटान र मलेसियालाई पराजित गरेको थियो । जितपछि नेपालको समुह ए मा ४ खेलमा ८ अंक भएको छ । त्यस्तै कतारले भने अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।
सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।
प्रतियोगितामा अब नेपालले समुह चरणको अन्तिम खेलमा युएईविरुद्ध सेप्टेम्बर ६ बुधबार खेल्ने तालिका रहेको छ ।