अफगानिस्तान, बंगलादेश, पाकिस्तानबाट घुसपैठ हुन थालेपछि भारतद्वारा सीमामा कडाई

न्युजलय १४ कार्तिक २०७८, आइतबार ०६:५३ मा प्रकाशित

बर्दिया । अफगानिस्तान, बंगलादेश, पाकिस्तान लगायत देशबाट आउने नागरिकहरू अवैध रुपमा नेपालमा प्रवेश गर्न थालेपछि भारतले नेपाल(भारत सीमाक्षेत्रमा कडाइ गर्न थालेको छ । सिमानामा हुने घुसपैठ रोक्न भन्दै भारतीय सीमा सुरक्षा बलले अनिवार्य परिचयपत्र समेत लागू गरेको छ।


आतंकवाद रोकथाम तथा अवैध रुपमा भित्रिने नागरिकलाई रोक्न यस्तो नियम लागू गरेको नानपारास्थित भारतीय एसएसबीका कमाण्डर एसपी स्वर्णजीत शर्माले बताए ।


नेपाल भारतको असल मित्र भएकाले दुवै मुलुकको सुरक्षा अधिकारीको सहकार्यबाट यस्ता अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने एसपी शर्माले बताएका छन् । परिचयपत्र लागू भएपछि अवैध गतिविधि रोकिने उनको अपेक्षा छ । 


सशस्त्र प्रहरी बल बर्दियाका एसपी नरबहादुर रावत र एसएसबीका सुरक्षा अधिकारीबीच सीमामा हुने अपराध नियन्त्रणका पक्षमा भारतको बहराइच जिल्लाको सीमावर्ती मूर्तिहामा छलफल भएको थियो । अब नेपाल प्रवेश गर्दा नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र लगायत शैक्षिक परिचयपत्र हुनुपर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए ।