इटहरी । जाउँ है पोखरा अभियानको प्रचार प्रसार गर्दै होटल संघ पोखराले देशव्यापी भ्रमण थालेको छ । सोअन्तर्गत इटहरीमा उद्योग वाणिज्य संघ इटहरीले संघका प्रतिनिधिहरुलाई इटहरीमा स्वागत गरेका छन् ।
पोखराका होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन व्यावसायी गरी २० जनाको टोलीलाई इटहरीको होटल इनटुरिष्ट प्यालेसमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीलगायत पुर्वका पर्यटन व्यवशायीहरुले स्वागत गरेका हुन् ।
कार्यक्रमका प्रमुखको अथिति कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई सहयोग गर्ने बताए ।
कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै कोशी प्रदेश र पोखराले एकअर्कासँग मिलेर पर्यटन प्रबद्र्धन गर्नुपर्र्नेमा जोड दिइन् ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले पोखराको टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पर्यटन क्षेत्रको विकासमा देशभरका पर्यटन व्यवशायीहरुले हातेमालो गर्नुपर्ने र समस्याहरुसँग मिलेर सामना गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नातिकाजी राष्ट्रिय योगदान सम्मान २०८० बाट सम्मानित भएका संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीलाई सम्मानसमेत गरिएको थियोे ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोशी प्रदेश वासीलाई पोखरा घुम्न आउन निम्तो दिएका छन् । उनले भारतीय सहरहरूमासमेत चलिए पोखरा अभियान सञ्चालन भइरहेको जानकारी दिए । संघले चैत ३० देखि वैशाख १ गतेसम्म फेवा तालको किनारमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ आयोजना गर्ने तयारी गरेको छ।