काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको जगदम्बा स्पिनिङ मिल्स लिमिटेडमा विद्युत शर्ट सर्किट भएर आगलागी हुँदा ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । रूपन्देहीको कमहरियास्थित स्पिनिङ मिल्समा हिजो (बुधबार) आगलागी भएको थियो । उद्योगको टीएफओ मेसिन, विद्युत प्यानल र विद्युतीय तारहरू नष्ट भएको मिल्सले जनाएको छ ।
उद्योगमा लागेको आगो सिद्धार्थ नगरपालिका र लुम्बिनी संस्कृति नगरपालिकाका दुईवटा दमकल, प्रहरी तथा उद्योगभित्र रहेका आगो निभाउने संयन्त्र प्रयोग गरी नियन्त्रणमा लिइएको पनि उद्योगले जानकारी दिएको छ । उद्योगमा कार्यरत ६५० भन्दा बढी कामदार तथा कर्मचारीबीच भागदौड हुँदा पाँच जना कर्मचारी सामान्य घाइते भएका छन् ।
उद्योगमा सौरभ ग्रुपले ३ अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ ।