काठमाडौं । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रा लि र पूर्वाञ्चल क्यान्सर अस्पतालबिच सम्झौता भएको छ ।
यति एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्ने र देशभरका बिरामीलाई पेटसिटी लगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने यति एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालको विश्वास छ ।
निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख छ । क्यान्सरका बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने छन् ।
गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत पुर्याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौता भएको पूर्वाञ्चल क्यान्सर अस्पतालले जनाएको छ ।