काठमाडौकों आइ एस डि कलेजबाट होटल मेनेजमेन्टमा स्नातक गरेका इटहरीका सफल पौडेल सनसाइन होटल कलेज र सनसाइन क्याफेका सञ्चालक हुन् । इटहरीस्थित विश्व आदर्श कलेजबाट व्यवसाय विषयमा स्नातकोत्तरसमेत गरिरहेका उनी इटहरीकै कान्छा कलेज युवा उद्यमीमध्ये एक हुन् । आउनुहोस् न्यूजलयका लागि ज्योति पोखरेलले युवा व्यवसायी पौडेलसँग गरेका कुराकानीः
होटल व्यवस्थापन विषय नै किन रोज्नुभयो ?
म होटल व्यवसायमा सक्रिय विभिन्न व्यक्ति, सेफहरु र होटल व्यवस्थापन विषय पढेर देशविदेशमा राम्रो व्यवसाय गर्न सफल व्यक्तिहरुबाट प्रभावित भएकोले यो विषय रोजेको हुँ । र यो मेरो प्यासन पनि हो ।
होटल व्यवस्थापन कस्तो विषय हो ?
होटल व्यवस्थापन अहिलेको एकदमै ट्रेन्डिङ विषय हो । खुलेर बोल्न सक्ने, विभिन्न देशका मानिसहरुसँग परिचय हुने, खुला रुपमा काम गर्न सकिने पेशामा आधारित विषय हो । जोसुकैले यो विषय पढ्न र व्यवसाय गर्न सक्दैन । खुला हृदय भएको व्यक्ति र सकारात्मक सोँच भएकाहरुले पढ्ने विषय हो ।
कोभिडको महामारीले सबैभन्दा धेरै असर गरेको क्षेत्रमध्ये पर्यटन पनि एउटा हो । होटल मेनेजमेन्ट पढाइ हुने कलेज र क्याफे कसरी अघि बढिरहेको छ ?
कोभिडको महामारीले पर्यटन र होटल शिक्षालाई धेरै प्रभाव पारीरहेको छ । मेरो व्यवशाय पनि यसै क्षेत्रसँग सम्बन्धित भएकोले असर त गर्ने नै भयो । जसरी विद्यार्थी विना स्कुल, विद्यालय चलदैनन् त्यसैगरी पर्यटक बिन पर्यटन व्यवसाय चल्दैन । कोभिडको खोप पनि सबैले पाएका छैनन् । टुरिजमको लागि पिसिआर टेस्टको सुविधा पनि छैन । होटल सञ्चालन गरेर स्वाथ्य मापदण्ड पालना गर्न सम्भव नि छैन त्यसैले हामीलाई धेरै नै प्रभाव परेको छ ।
यस्तो प्रतिकुल परिस्थितीमा पनि सामाजिक सञ्जालको माध्यमबाट प्रचारप्रसार गरेर हामी विद्यार्थीहरुसँग सम्पर्कमै छौं । यस्तै हामी विद्यार्थीको संख्या भन्दा पनि गुणस्तरीय शिक्षामा केन्द्रित भएकोले गर्दा थोरै विद्यार्थीहरुलाई सामाजिक दूरी कायम गरेर कलेज परिसरमै कक्षा सञ्चालन गरिरहेका छौं ।
यहाँ पढेका विद्यार्थीहरुले कहाँकहाँ रोजगार गरेका छन् ?
हामीले कलेज सञ्चालन गरेको धेरै भएको छैन । सुरुवाती अवस्थामै कोभिडले गर्दा बाहिर रोजगारीको लागि पठाउन निकै गाह्रो भएको थियो । तर अहिले हाम्रा विद्यार्थीहरु कतार दुबही लगायत देशका फाइभस्टार होटलहरुका काम गरिरहेका छन् र राम्रो कमाइ गरिरहेका छन् ।
होटल व्यवस्थापन विषय पढेर के गर्न सकिन्छ ?
आम विद्यार्थीहरुमा होटल म्यानेजमेन्ट पढेपछि मिठो मिठो खाना पकाउँछु, वेटरको काम गर्छु भन्ने सोँच हुन्छ । तर त्यस्तो हुँदैन । हामीले होटल व्यवस्थापन विषय पढ्दा खाना पकाउने भन्दा पनि व्यवस्थापनसँग सम्बन्धित सबै खालका विषय पढ्नुपर्ने हुन्छ । यसमा मुख्यतः चार वटा विषय हुन्छ । जस्तै, ‘फ्रन्ट अफिस, हाउस किपिंग, सर्भिस र किचेन’ । अफ्नो इच्छा अनुसार विद्यार्थीहरुले विषय रोज्न सक्नेछन् । त्यसैले यो विषय होटल व्यवशायलाई कसरी व्यवस्थित रुपले सञ्चालन गर्ने, के के कुरामा ध्यान दिने, कार्यालयदेखि किचनसम्मको व्यवस्थापन कसरी गर्ने भन्ने कुराहरु जानकारी दिने विषय हो ।
इटहरीका होटलहरु कतिको व्यवस्थित छन् ?
इटहरीको होटलहरुमा अझै पनि सोही विषय पढेर आएका विज्ञहरुको कमि देख्छु । इटहरीमा राम्रा राम्रा होटल, लजहरु खुलेका छन् तर दक्ष जनशक्तिको कमि भएको महसुस हुन्छ मलाई । पढेकै नभएपनि राम्रो प्रशिक्षण लिएका कामदारहरु भएदेखि राम्रो हुनेथियो ।
इटहरीका होटलहरुलाई व्यवस्थित गर्नको लागि के गर्नुपर्छ ?
पहिलो कुरा त हामीलाई प्राविधिक ज्ञानको आवश्यक्ता छ । होटल व्यवसाय मात्र नभई जुनसुकै व्यवसायको लागि दक्ष जनशक्तिको अभाव भएमा त्यो क्षेत्र कहिल्यै व्यवस्थित हुँदैन । होटल व्यवसाय परिवर्तनशील व्यवशाय हो । दिनहुँ यसको टेस्ट परिवर्तन भइरहन्छ । यदि हामीले समयअनुसार हाम्रो होटल व्यवशायका सेवा सुविधाहरु अपडेट गर्यौं र प्रशिक्षण दिन सक्यौं भने राम्रो हुन्छ । होटल व्यवसाय संघले पनि यस विषयमा ध्यान दिन जरुरी छ ।
तपाई त जिल्ला होटल तथा पर्यटन व्यवशायी संघ सुनसरीको महासचिव पनि हुनुहुन्छ, संघले चाहिँ के कस्ता कार्यहरु गर्दै आइरहेको छ ?
हामीले यो संघ भर्खरै सुरु गरेका हौं । संस्था स्थापना भएको एक वर्ष पनि भएको छैन । तर पनि यो बिचमा हामीले सेफ सन्तोष साहलाई ल्याएर इटहरी रंगशालामा फुड एण्ड विभेरेज मेला सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । हामीले इटहरीदेखि भेडेटारसम्म ‘राइड फर टुरिजम’ नाम दिएर कार र्याली गर्न लागेका छौं । यो र्यालीको मुख्य उद्देश्य भनेको कोभिडबाट थलिएका इटहरीदेखि धरान, भेडेटारसम्मका होटललाई पुनः जागरण ल्याउनु हो । यसबाहेक हाम्रो संघले डिजिटल होटल मार्केटिङका लागि सहयोग गरिरहेका छौं । होटलहरुमा परिचयात्मक स्टिकरहरु पनि टाँस्ने कार्य हुँदैछ ।
विद्यार्थीले किन सनसाइन कलेज नै रोज्ने ? भावि योजना के छन् ?
हामीले हाम्रो भौतिक पूर्वाधारमा निकै ध्यान दिइरहेका छौँ । शिक्षकहरु प्नि निकै दक्ष र स्नातक सकेका हुनुहुन्छ । हामीले विद्यार्थीहरुलाई धेरै जसो व्यवहारिक ज्ञान चाहिन्छ भनेर विद्यार्थीलाई किताबमा मात्र सिमित नगरी बाहिरी कुराहरु पनि सिकाउँछौँ ।
हामीले छोटो समयमै सकिने कोर्षहरु बारिस्टा, बारटेन्डर, बेकरीहरुको कोर्षलाई राम्रोसँग सिकाइरहेका छौँ । बेकरी बनाउने, कुकिंग गर्ने दक्ष जनशक्तिको कमि भएकाले हामीले यस्ता सर्ट टम कोर्षलाई भविष्यमा अझ महत्व दिने योजनामा छौं ।
अनि सनसाइन क्याफेको विशेषता नि ?
सनसाइन चाहीँ एउटा होटल नभएर क्याफे हो । हाम्रो विद्यार्थीहरुले आफ्नै क्याफेमा काम सिक्न पाउन् भन्ने उद्देश्यले हामीले यो क्याफे खोलेका हौँ । हामीसँग सम्बन्धित विषय नै भएकोले र मलाई पनि पहिलेदेखि एउटा व्यवसायमा लाग्न इच्छा रहेकोले हामीले क्याफे खोलेका हौँ । क्याफेमा विशेषगरी कफी लभर्स् आउनुहुन्छ । हाम्रोमा झोल मःमः चाही एकदमै मिठो मान्ने गर्नुभएको छ । नयाँ खाल्को बर्गर लञ्च गरेका छौँ । मार्केटमा हार्मी हामीले इटालियन फुड, पास्ताहरुलाई पनि फोकस गरेक छौँ । हाम्रो क्याफेको लोकेसन पनि इटहरीको सेन्टरमा पर्ने भएकोले ग्राहकहरुको रोजाइमा छ, सनसाइन क्याफे । हामीले पिज्जाको भेराइटि पनि थप्ने योजनामा छौँ । यसबाहेक प्रायः सबै खानाको प्रतिक्रिया एकदमै राम्रो आएकोले एक पटक आएको ग्राहक फेरी फेरी पनि आइरहनुहुन्छ ।
यो क्याफेलाई चाहिँ अब कसरी अगाडी बढाउने सोच्नु भएको छ ?
कोभिडबाट थलिएर अलिक उठिरहेको छ क्याफे सञ्चालन राम्रै हुँदैछ अहिले । यहि बिचमा हामीले नयाँ नयाँ परिकार थप गर्ने योजना छ । साथै हाम्रो आउटडोर स्पेस नि रहेकोले अहिले त्यसमा बियरबारको कन्सेप्ट लिएर मानिसहरुलाई साँझमा चिया, हुक्का, बियर, व्याइन राखेर सोसल क्याफेको रुपमा स्थापना गर्ने सोचेका छौँ । यो चाहीँ एउटा रेष्टुरेन्ट र बार नभई सोसल क्याफेको रुपमा स्थापना हुनेछ जुन हालसम्म इटहरीमा छैन ।
अन्तीममा के भन्न चाहनुहुन्छ ?
कोभिड १९ को कारण विश्व नै थला परिरहेको अवस्था छ । त्यसैले सम्पूर्णलाई सुरक्षित रहन आग्रह गर्छु । सुरक्षित भयौँ भने मात्र रेष्टुरेन्ट, क्याफेमा रमाइलो गर्न सक्छौँ । अन्त्यमा सबैलाई इटहरीको आइतबारे चोकमा टेलिकम नजिकै रहेको सनसाइन क्याफे एक पटक भिजिट गर्न आग्रह गर्दछु ।