२०७८ साल मङ्सिर १३ गते सोमबार

फिदिममा खानेपानीको हाहाकार

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०७:१४ मा प्रकाशित
पाँचथर । केहि दिन अघि आएको भारी वर्षासँगै गएको पहिरोले पानीको मुहानमा क्षति पुर्‍याएपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा खानेपानीको हाहाकार भएको छ ।

पहिरोले मुहान भत्काउनुका साथै पाइप लाइनमा क्षति पुर्‍याएपछि खानेपानी आपूर्ति गर्न कठिनाई हुँदा पानीको चरम अभाव सिर्जना भएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।

फिदिममा पानी आयात गरिएको आप्तावा खोला मुहानको संरचनामा धेरै क्षति पुगेको उपभोक्ता समिति अध्यक्ष गजाधर भट्टराईले बताए । यहाँबाट ल्याइएको पानी सदरमुकाम फिदिमका वडा नम्वर १, २ र ४ का २ हजार परिवारलाई वितरण गरिएको छ ।

पानीको अभाव सिर्जना भएपछि फिदिम नगरपालिकाले दमकलमार्फत् पानी ल्याएर बजार क्षेत्रमा वितरण गर्न थालेको छ । वडा नम्वर ४ का वडाध्यक्ष प्रकाश गुरुङको अगुवाइमा दमकलबाट पानी वितरण सुरु गरिएको हो ।

फिदिम २ मा रहेको अर्खौले धाराबाट दमकलमा पानी भरेर बजारमा वितरण गर्ने गरिएको गुरुङले जानकारी दिए ।