इटहरीमा पहिलो कर्पोरेट क्रिकेट फेस्टिभल: विजेताले २५ हजार पाउने

न्युजलय १८ असोज २०८०, बिहिबार ०४:२५ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक कर्पोरेट क्रिकेट फेस्टिभल हुने भएको छ । 


व्यवसायीहरू बिच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको आयोजनामा ‘पहिलो कर्पोरेट क्रिकेट फेस्टिभल २०८०’ हुन लागेको हो ।


‘खेलकुद सँगै स्वास्थ्य र पर्यटन’ नारा दिइएको फेस्टिभलमा रोटरी क्लब अफ इटहरी युगल सहआयोजक रहेको छ । आरती स्ट्रीप्स प्रालि मुख्य प्रायोजक र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज सह प्रायोजक छन् ।


नेपाल डिभिएम स्कुलको मैदानमा आगामी शुक्रवार र शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने प्रतियोगिताको कुल लागत ६ लाख अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद सहित दुवै टिमले सिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।