काठमाडौं । स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए ।
सम्पूर्ण स्थानीय तहमा दरबन्दीअनुरूप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बताएकी छन् ।
सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुनेमध्ये नौ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा चाँडै दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्री न्यौपानेले बताइन् ।