विराटनगर । उत्पादन धेरै भएपछि बजारमा दुधको भाउ घटाइएको छ । कोशी प्रदेश डेरी उद्योग संघले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । दुधको मूल्यसँगै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाइएको छ ।
दुधको उत्पादन बढी भएको भन्दै मूल्य घटाएपछि स्ट्याण्डर दुध आधा लिटर प्याकेटको ४५ पर्ने भएको छ ।
संघले फ्याट मिल्क आधा लिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपैयाँ कायम गरेको छ ।
कतिपय डेरीहरुले यो नियम भोलि आइतबारदेखि लागु गर्नेछन् भने कतिपयले मंसिर १ गतेदेखि मात्र लागू गर्ने बताएका छन् ।
प्रदेशमा प्रतिव्यक्ति दुध उपलब्धता वार्षिक ९२ लिटर रहेको छ भने माग ७१ लिटर मात्रै छ ।
कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरुले बताएका छन् ।