को हुन् भोजपुरी सुपरस्टार खेसरीलाल यादव ?

न्युजलय ५ माघ २०७८, बुधबार ०२:०२ मा प्रकाशित

भोजपुरी सुपरस्टार तथा गायक खेसरीलाल यादव आउने भनेर प्रचार गरिएको सुनसरीको एक कार्यक्रममा उनी नपुग्दा मंगलबार तोडफोड र आगजनी नै भयो । यसअघि उनको नाम नसुनेकाहरुले खेसरीलाल को हुन् भनेर सामाजिक सञ्जालहरुमा जिज्ञासा व्यक्त गरे । तर हिन्दी र भोजपुरी फिल्म हेर्ने तराइ क्षेत्रका मानिसहरुको लागि भने उनी चिनिएका फिल्म स्टार हुन् । 


उनलाई उनको अहिलेको सफलता र लोकप्रियताका साथै विगतको संघर्षलेसमेत पहिचान दिलाएको हो । 


खेसारीको जन्म बिहारको सिवान जिल्लामा भएको थियो । खेसरीलाल यादवले ‘साजन चले ससुराल’ बाट आफ्नो करियर सुरु गरेका थिए । यो फिल्मबाट खेसारीले ११ हजार रुपैयाँ पाएका थिए । उनी आज भोजपुरी सिनेमाका सबैभन्दा महँगा अभिनेता हुन् । खेसरीलाल यादव हालै सम्पन्न बिग बोस सिजन १३ मा देखिएका थिए । जहाँ दर्शकले उनलाई निकै मन पराए तर उनी चाँडै शोबाट बाहिरिए । 


उनी अभिनय र गायनमा करियर बनाउनु अघि दिल्लीमा लिट्टी चोखाको व्यापार गर्थे । उनले खोलेको पसलमा उनकी श्रीमतीले पनि सघाउने गर्थिन् । खेसारीले अभिनय सुरु गर्नुअघि नै बिहे गरेका थिए । 


एक अन्तर्वार्तामा खेसारीले आफ्नो विवाहको बारेमा आफूसँग पैसा पनि नभएको बताएका थिए । उनका ससुराले छोरीको बिहेका लागि भैंसी बेचेका थिए । विवाह गरेपछि खेसरीको भाग्य फेरियो । खेसरीलाल यादवका दुई सन्तान छन् । आज खेसारीसँग आफूले चाहेको सबै थोक छ । उनी अभिनेता, गायकका साथै नर्तकसमेत हुन् ।