काठमाडौँ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको ज्यान गएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् ।
शनिवार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर ज्यान गएको हो । त्यही ठाउँका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिवार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलले जनाएको छ ।
बेपत्तामध्ये धनबहादुरको शव आइतवार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अरु दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ ।
धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।