मुल्तबी कृतिको समीक्षाः जीवन भनेको घटनाहरुको सङ्गालो, घटनाहरु नै कथाका विषयवस्तु

बाबुराम कार्की ४ माघ २०७९, बुधबार १२:५५ मा प्रकाशित

मैले पत्रकारिता यात्राको सुरुवात २०६२ सालदेखि गरेको थिएँ । त्यो बेलामा नै विराटनगरबाट प्रकाशन हुने श्री जनमत साप्ताहिक पत्रिकाको प्रकाशक तथा सम्पादक थिए, इटहरीका शालिग्राम पाण्डे । 

सेतो फुलेको कपाल, खिरिलो ज्यान, कडा बोली भएका उनी पत्रकारितामार्फत् स्थानीय स्तरका गतिविधिलाई पाठकमाझ सुसूचित गराउन तल्लिन रहन्थे । उनको पत्रकारितामा उनको व्यक्तित्व झल्कन्थ्यो । आज उनको जीवनका कथाव्यथा र विचारहरु संगालेको पुस्तक ‘मुल्तबी’ पढिरहँदा त्यही व्यक्तित्व पाएँ जहाँ उनको भनाइ र गराइ आज पनि त्यती नै मेल खान्छन् । 

पत्रकार तथा लेखक शालिग्राम पाण्डेको पुस्तक मुल्तबीमा पाण्डेले आफ्नो जीवनका घटना र अनुभूतिलाई समेटेका छन् । जीवन भनेको घटनाहरुको सङ्गालो हो र घटनाहरु नै कथाका विषय वस्तु हुन् भन्ने कुरालाई पाण्डेको पुस्तकले पुष्टि गरेको छ ।  

आफूले भोगेको जीवनका घटनाक्रमहरुलाई नै कथाका विषयवस्तु बनाई उनले जीवनका यात्रालाई यस सङ्ग्रहमा सङ्ग्रहित गरेका छन् । २७० पृष्ठमा संरचित यस सङ्ग्रहमा ७६ शीर्षकका कथाहरु समेटिएका छन् भने जीवन अनुभूतिका ६ दशकका अनुभवलाई समेटेर कथाको प्रारम्भ गरेका छन् । 

सरल र सहज भाषाशैलीमा लेखिएको यस कृति जुनसुकै पाठकका लागि उपयुक्त हुने देखिन्छ । उनलाई यस कृतिका माध्यमबाट नजिकैबाट नियाल्न सकिन्छ । कुनै फूलबुट्टा नभरी आफूले जस्तो जीवन भोगेको छ, त्यसलाई त्यस्तै रुपमा कृतिमा प्रस्तुत गरेका छन् । 

जीवनका हरेक स–साना पक्ष चाहे उनले गरेका गल्ति हुन् या राम्रा काम, सबैलाई उनले यस कृतिमा उजागर गरेका छन् । उनले प्रारम्भमा मेरा कथा मेरा लागि ठुलो र अरुका लागि सानो हुन सक्छन् भन्ने ओजिलो वाक्यले कथा भित्रका विषयवस्तुलाई खुलस्त बनाइदिएको छ । 

उनका कथा पढिरहदा झिना विषयवस्तुहरुलाई प्रस्तुत गरे झैं भान हुन सक्छ । तर, तिनै विषयवस्तुहरुले जीवन भोगाइलाई कहिले कष्टपूर्ण र कहिले रोमाञ्चक बनाएको प्रसङ्गले ति विषयवस्तु घतलाग्दा सावित भएका छन् । उनका जीवनका कथा पढिरहँदा आफू नै भोगाइका पात्र भए झैँ लाग्नु यस सङ्ग्रहको आस्वाद्य पक्ष हो । 

उनले कृतिको सुरुवाती आफ्नो बालापनबाट सुरु गरेका छन् । उनको बालापनले त्यस समयको धेरैजसो नेपाली बालबालिकाहरुलाई प्रतिनिधित्व गरेको छ । बात्सल्य उमेरमा रमाउन नपाउँदै विभिन्न कारणले सानै उमेरमा जिम्मेवारी काँधमा बोक्नुपर्ने, आमाबाबुबाट टाढा बस्नुपर्ने र साथीभाइहरुसँग खेल खेल्ने क्रममा गरेका उट्पट्याङहरुलाई रोचक तरिकाले प्रस्तुत गरेका छन् । 

आजभन्दा ४० वर्ष अघिको नेपालको शिक्षाको अवस्था, राजनीतिक अवस्था र समाजको अवस्थालाई शब्दचित्र मार्फत प्रस्तुत गरेको यस कृति त्यस ताकाको नेपाली समाजको दर्पण बन्न सफल देखिन्छ । त्यसताकाको नेपालको शैक्षिक अवस्था, शिक्षा आर्जन गर्न भोग्नुपरेको विभिन्न कष्टलाई आफ्नो भोगाईको माध्यमबाट प्रस्तुत गरेका छन् । त्यस्तै जसको शक्ति उसकै भक्ति भन्ने उक्तिलाई मेल खाने त्यसबेलाको नेपाली समाजलाई पनिउनले आफ्ना अनुभवका माध्यमबाट प्रस्तुत गरेका छन् । 

जङ्गल फडानी गरेर जेथो जोड्ने परम्परा, नेपालको कृषि प्रणाली, सामाजिक विभेद, अन्धविश्वास, नेपालको राजनैतिक प्रणाली,आफू सत्य हुँदाहुँदै पनि विभिन्न समयमा आफू नै मूकदर्शक बनेर हेर्नुपर्ने समाजको परिदृष्य उनको कृतिमा प्रस्तुत भएको छ । जस्तोसुकै परिस्थितिमा पनि सत्यमा अडिग रहने, सानै उमेरदेखि आफ्नो गल्ति हो वा होइन छुट्याएर बोल्ने स्पष्ट वक्ताका रुपमा उनलाई देख्न सकिन्छ ।

किशोर अवस्थामा टेक्दै गर्दा साथहिरुसँगको रमाइला र ठट्यौली पनपनि उनले कृतिमा समेटेका छन् । फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता पाठकका लागि त्यसबेलाको बाटामा बसेर साथीहरुको लहैलहैमा लागि केटी जिस्काउने परम्परा रोचक लाग्न सक्छ । त्यस्तै यौन शिक्षा जस्ता महत्त्वपूर्ण विषयवस्तु त्यसताका पाठ्यक्रममा भए पनिखुलेर त्यसबारे शिक्षा लिन लज्जाबोध हुने सङ्कीर्ण सोचाइलाई समेत कृतिमा समेट्न छुटाएका छैनन् । 

साविक समयको विद्यालय तहको पढाइपछि जागिरका लागि गरेका प्रयत्न, विभिन्न ठाउँमा जागिर खाएको अनुभव, जागिर खाँदा भोग्नु परेका समस्यालाई उनले कृतिमा समेटेका छन् । पारिवारिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन नसकेको, जागिर खान बाध्य हुनु परेको घटना परिघटनालाई समट्दै खाने मुखलाई जुगाँले छेक्दैन भन्ने उखानझै आफ्नो पढ्ने लक्ष्यलाई समस्याका बावजुत पनि पूरा गरेको संस्मरणले पढाइप्रति रुचि राख्नेले जुनसुकै अवस्थामा पनि आफ्नो इच्छा पूरा गर्न सक्ने प्रेरणा उनको कृतिबाट पाउन सक्छ । 

जस्तोसुकै अवस्थामा पनि हार नमानी अगाडि बढ्ने हो भने चाहेका कुरा प्राप्त गर्न सकिने सन्देशमूलक संस्मरण उनले आफ्ना कृतिमा समावेश गरेका छन् । विभिन्न पेशामा आबद्ध भएर विभिन्न ठाउँ घुमेका पाण्डेले त्यहाँका रीतिस्थिति चालचलन र परम्परा, त्यहाँका मानिसका सोचाइ, साथी सङ्गतको प्रभाव जस्ता कुरालाई उनले कृतिका विषयवस्तु बनाएका छन् । 

जस्तोसुकै परिस्थितिमा पनि आशावादी रहने पाण्डेको कृतिमा जीवनवादी दृष्टिकोण प्रस्तुत भएको पाइन्छ । उनका जीवनका घटना परिघटना पढ्दा आफू पाठक भएको विर्सिएर भोग्ने व्यक्ति स्वयं हुँ भन्ने भान हुनसक्छ । जीवनमा आइपर्ने सुख, दुःख, आरोह, अवरोहको प्रस्तुतिले हरेक व्यक्तिको जीवनलाई प्रतिनिधित्व गरेको छ । 

कतिपय भोगाईहरु कुनै कुनै शीर्षकमा दोहारिएर आए पनि उनको कृति पढिसक्दा सकारात्मक सोँच र सत्यको बाटोले जीवनलाई सुन्दर र सफल बनाउँछ भन्ने गहकिलो सन्देश प्राप्त हुन्छ । 

मानिसको जीवनमा चेतना, शिक्षा र आर्थिक अवस्थाले मानिसको सोचाइ र जीवन पद्धत्तिमा फरक ल्याउँछ भन्ने तथ्यलाई उनले आफ्ना अनुभवबाट पुष्टि गरेका छन् । बालापनमा सर्पले टोक्दा चेतनाको कमीले जीवनप्रति मोह नभएको र चेतनाको विकास भइसकेपछि खरेटोले घोच्दापनि सर्पले टोकेको आशङ्काले हतोत्साहित बन्न पुगेको घटनालाई प्रस्तुत गरी जीवनप्रतिको मोह व्यक्त गरेका छन् ।

नेपालको ६ दशक अघिदेखि हालको समय सम्मको पहाडी भेग हुँदै ग्रामिण तथा तराई भेगमा बसोबास गर्ने मानिसको चालचलन, रितिस्थिति र परिवेशलाई प्रस्तुत गरिएको यस सङ्ग्रहबाट ६ दशकसम्मको मानिसको जनजीवन र नेपालको परिवेशलाई सजिलै बुझ्न सकिन्छ । 

उनले आफ्ना लघु कथामा बालापनको अवस्थादेखि निरन्तर जीवन भोगाइका यादगार क्षणलाई रोचक तरिकाले प्रस्तुत गरेका छन् । उनको जीवन भोगाइका अनुभवलाई यस सङ्ग्रहमा जीवन्त पढ्न पाइन्छ । 

जीवन सुख, दुःख र सम्झौताको समिश्रण हो भन्ने तथ्यलाई आफ्ना भोगाईलाई प्रस्तुत गरिएको यस कृतिमा बालापनदेखि छ दशकसम्मको जीवनका आरोह अवरोह, सुख, दुःखलाई प्रस्तुत गरी आफूलाई पाठक सामु उभ्याएका छन् ।