कोशी प्रिमियर लिग : पहिलो खेलमा इटहरी आदर्श विजयी

न्युजलय ६ फाल्गुण २०८१, मङ्गलबार ०१:३१ मा प्रकाशित

सुनसरी । सुनसरीमा सुरु भएको कोशी प्रिमियर लिग क्रिकेटमा इटहरी आदर्श जायन्टसले दुहबी क्यापिटल्सलाई ३ विकेटले हराएको छ । दुहबीले दिएको १ सय ४५ रनको लक्ष्य आदर्शले अन्तिम बलमा ७ विकेट गुमाई पूरा गरेको थियो ।


आदर्शका लागि फिर्दोस अन्सारीले ४३ र दीपेशले नटआउट १२ रन बनाए । भीम सार्की २४, गुलसन झा २३, रशिद खान २३ र अर्जुन घर्तीले १९ रन जोडे । त्यसअघि टस हारेको दुहबीले २० ओभरमा ४ बिकेट गुमाएर १ सय ४४ रन बनायो ।


दुहबीका लोकेश बम र तृतराज दासले ४३–४३ रन जोडे ।


सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थित डाक्टर खलिल आजाद खेलकुद ग्राउन्ड, भोक्राहा नरसिंह–४ मा प्रतियोगिता भइरहेको छ। १७ गतेसम्म चल्ने प्रतियोगिता यसपटक टी २० फर्म्याटमा सुरु भएको छ । अघिल्लो संस्करणमा १०० बल फर्म्याटमा खेलिएको थियो । 


प्रतियोगितामा इटहरी आदर्श जायन्ट्स, नमुना ब्लास्टर्स, पूर्वेली सुपर किंग्स, भोक्राह नरसिंह अर्नाज, बलान बिउल सप्तरी टाइगर्स, दुहबी क्यापिटल्स, एनबीएससी लायन्स गरी सात टिम छन् । लिगमा कुशल मल्ल, कुशल भुर्तेल, भीम सार्की, सन्दीप जोरा, साहब आलम, गुल्शन झा, आसिफ शेखलगायतका राष्ट्रिय खेलाडीहरूसमेत सहभागि छन् । 


सिंगल राउन्ड रोबिन लिग खेलाइने प्रतियोगिताका विजेताले ५ लाख ५ हजार ५०५ रुपैयाँ र उपविजेताले ३ लाख ३ हजार ३०५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याटर र बलरले १५ हजार पाउनेछन् ।