कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

न्युजलय ५ फाल्गुण २०८२, मङ्गलबार ०४:३४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।

सूचना अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ ।

बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ । परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी गराइने छैन । परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि स्पष्ट पारिएको छ ।

त्यस्तै, परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको, आवश्यक सामग्री परीक्षार्थी स्वयंले ल्याउनुपर्ने तथा जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।