ईसेवाबाट ईसेवामा रकम पठाउँदा लाग्ने सेवा शुल्क हट्दै

न्युजलय २७ फाल्गुण २०७९, शनिवार ०१:१५ मा प्रकाशित

काठमाडौं । ईसेवाबाट ईसेवामा रकम पठाउँदा लाग्ने सेवा शुल्क छिट्टै नै हट्ने भएको छ । डिजिटल वालेटको प्रयोग गरेर त्यसबाट हुने अनैतिक कारोबारलाई रोक्नका लागि यस्तो नीति ल्याएको भए पनि सेवाग्राही मारमा पर्दा कम्पनीले यो सेवा बन्द गर्न लागेको जनाएको छ ।

कम्पनीले फागुनको पहिलो साताबाट ईसेवादेखि ईसेवामा दिनमा दुई पटकभन्दा बढी कारोबार गर्दा सेवा शुल्क लिन सुरु गरेको थियो । जसअन्तर्गत एकदिनमा ईसेवाबाट ईसेवामा दुईपटकभन्दा बढी कारोबार गर्दा हरेक पटक पाँच रुपैयाँ सेवा शुल्क लाग्छ ।

त्यस्तै एक महिनामा ३० पटक भन्दा बढी ईसेवाबाट ईसेवामा रकम पठाउँदा पनि यो शुल्क लाग्ने गरेको छ । 

ईसेवाका चिफ मेनेजर आशिष गौतमले यो सेवाले ग्राहक मारमा परेको भन्दै बन्द गर्न लागेको जानकारी दिए ।

हुन्डी तथा बेटिङमा ईसेवाको प्रयोग बढ्न थालेपछि दिनमा दुई पटकभन्दा बढी ईसेवाबाट ईसेवामा कारोबार गर्दा सेवा शुल्क लिने योजना बनाएको गौतमको भनाइ छ । 

उनी भन्छन्, ‘९९ प्रतिशत सामान्य उपभोक्ताले ईसेवादेखि ईसेवामा दैनिक दुई पटक कारोबार गर्छन् । त्यही दुई ओटा कारोबारमा चार्ज नलगाएर, अनइथिकल पार्टलाई रोक्नका लागि हामीले चार्ज प्रणाली लागू गरौं भन्ने सोचेका हौं।’

तर, ईसेवाले पीटुपी (ईसेवादेखि ईसेवामा कारोबार) गर्दा चार्ज लिने नीतिलाई बजारबाट राम्रो प्रतिक्रिया नमिलेपछि बन्द गर्न लागेको उनी बताउँछन् ।

कहिलेबाट सेवा शुल्क बन्द गर्ने भन्ने कम्पनीले खुलाएको छैन । यद्यपि यो ईसेवाबाट ईवामा कारोबार गर्दा शुल्क लाग्ने प्रणाली चाँडै बन्द हुने कम्पनीले बताएको छ ।