८ हजार ६०० बढी शेयर सदस्य, १५ हजार बढी खाता, ८ करोडको शेयर पुँजी । ५५ करोड बचत र ५४ करोड ऋण लगानी । यो इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाको तथ्यांक हो । यतिले यो संस्थाको आकार स्पष्ट पार्छ । त्यसबाहेक पनि केही छ । यो संस्था एसियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त संस्था हो । जसले ब्रोन्ज तहको ब्राण्ड पाएको छ । यस्तै यो संस्था महिलाहरुको नेतृत्वमा स्थापित र सञ्चालित छ ।
इटहरीमा २०५५ सालमा स्थापित यो सहकारी अहिले प्रदेश १ कै ठूलो सहकारीमा पर्छ । त्यसमाथि महिलाले व्यवस्थापन गरेको पूर्वकै ठूलो र देशमै औंलामा गन्न सकिने सहकारीहरुमध्ये एक हो, महिला बचत तथा ऋण सहकारी संस्था ।
महिलाहरुको लगन, मेहेनतका कारण यो सहकारी पुरुष नेतृत्वका धेरै सहकारीहरुभन्दा व्यवस्थितरुपमा सञ्चालन भइरहेको छ । सहकारी आज जुन ठाउँमा छ, त्यहाँसम्म आइपुग्न पक्कै सहज थिएन । सहकारी स्थापना हुँदै गर्दाको समयमा हाम्रो समाजका धेरै महिलाहरु चुल्हो चौकोबाट बाहिर निस्किसकेका थिएनन् । आर्थिक रुपमा त्यती सक्रिय नभइसकेको महिला समुदायलाई समेटेर बचत र ऋणको महत्व बुझाउँदै संस्थाको काम अघि बढाउने चुनौतिलाई सामना गर्न संस्थाले विभिन्न अभियानहरु चलायो ।
७५ जना शेयर सदस्यबाट सुरु गरिएको सहकारीमा सदस्यहरुको संख्या बढ्दै आजको आकारमा आइपुगेको छ । इटहरी ४ मा मुख्य कार्यालय रहेको सहकारीले तरहरा र खनार बजारमासमेत गरेर ६ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ । यी सम्पर्क कार्यालयहरुले सदस्यहरुलाई उनीहरुकै गाउँ घरमा बचत संकलन तथा ऋण परिचालनको लागि सहज वातावरण उपलब्ध गराइरहेका छन् । साथै पछिल्लो समय सहकारीले मोरंगमा समेत कार्यक्षेत्र विस्तार गरेको छ ।
यो सहकारीले आफूलाई डिजिटलाइज्ड गरेको छ । कागज र ढड्डाबाट सुरु भएपनि अहिले सबै कामहरु कम्प्युटरहरुबाट गरिन्छन् । कार्यालय सुविधासम्पन्न र अत्याधुनिक छ । प्रविधिको प्रयोगले कारोबारलाई पारदर्शी बनाएको छ भने पारदर्शीताले विश्वास बढाएको छ ।
यो सहकारी आफ्ना सदस्यहरुको सेवा र सुविधाप्रति उत्तरदायी छ । सदस्यहरुलाई आर्थिक कारोबारका लागि सल्लाह र तालिमहरु दिने अनि उनीहरुको सुख दुःखमा सहयोगि बन्ने गरेको छ । यससँगै विभिन्न सुविधाहरुसमेत संस्थाले प्रदान गरिरहेको प्रमुख कार्यकारी निर्देशक खगेन्द्र सिग्देलले जानकारी दिए ।
ग्राहक सदस्यहरुको मन जित्न सफल भएकैले सहकारीले उन्नती गर्न सकेको छ । व्यवस्थित कार्यसञ्चालन प्रक्रिया र सन्तुष्ट ग्राहकहरुका कारण २४ जना पूर्णकालिनलगायतका सबै कर्मचारीहरु जिम्मेवार छन् । आफ्ना कर्मचारीको वृत्ती विकासको लागि बेला बेलामा आन्तरिक तालिमहरु गर्नेदेखि बाहिर हुने क्षमता तथा सीप विकाससम्बन्धि तालिममा कर्मचारीहरुलाई सहभागिसमेत गराउने गरेको छ ।
कर्मचारीहरुको लगावका कारण पनि संस्थाले जारी गर्ने नीति नियमहरुको प्रभावकारी पालना र कार्यान्वयन हुन सकेको छ । यस्ता नीति, कार्यविधि, आचारसंहिताहरुले सबैको जिम्मेवारी, काम गर्ने तरिका, संस्थाको कार्यशैली र योजना स्पष्ट पारेको छ ।
महिला बचत तथा ऋण सहकारी संस्थाले व्यवशायिक गतिविधि सँगसँगै बेला बखत सामाजिक कार्यहरु गर्ने र सामाजिक कामहरुमा सक्रिय सहभागितासमेत जनाउने गरेको छ । विभिन्न किसिमका तालिम, वित्तीय साक्षरता कार्यक्रम, रक्तदान, पुरस्कार तथा राहत वितरण जस्ता कार्यक्रम र गतिविधि गरेर समाजसँग सकारात्मक सम्बन्ध विकास गरेको छ ।
बैंकमा ३० वर्ष काम गर्दा सिकेको बैंकिङ तथा व्यवस्थापकीय सीपलाई उनले महिलाहरुको हितमा प्रयोग गरिन् । लामो समय अध्यक्षको भूमिकामा रहीसकेकी अमृता सुब्बाले कुशल महिला व्यवस्थापकको परिचय बनाउन सकेकी छिन् । त्यसैले संस्थाले उनलाई बारम्बार अध्यक्षको भूमिका दिएको छ । बिचमा उनी अध्यक्षबाहिर रहँदा संस्था राम्रो व्यवस्थित हुन नसकेपछि फेरी उनलाई नै सदस्यहरुले नेतृत्वमा ल्याएका हुन् ।
पछिल्लो समय सहकारीले वरपरका अन्य सहकारीहरुसँगसमेत मर्ज गर्ने प्रक्रिया अघि बढाएको छ । यसरी निकट भविष्यमा महिलाहरुले नेतृत्व गरेको यो सहकारी उदाहरणीय सहकारीको रुपमा स्थापित हुने निश्चित छ ।