धरान । राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीले स्वयंसेवक परिचालन गर्ने भएको छ । यही कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुन गइरहेको जनगणनाबाट सही र सत्य तथ्याङ्क सङ्कलन गर्न सहयोग र सहजीकरण गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गर्न लागेको महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले बताए ।
जनगणनासम्बन्धी प्रश्नावलीमा कतिपय आदिवासी जनजातिका जात, भाषा र धर्म जस्ता विषयहरुको कोड नै उल्लेख नगरिएको भन्दै यसवाट वास्ताविक तथ्याङ्क आउन नसक्ने र त्यस्ता जाति समुदायको पहिचान र अस्तित्व नै सङ्कटमा पर्ने देखिएको राईले बताए ।
आदिवासी जनजातिहरू प्रायःले नामथर, मातृ एवम् पुख्र्यौली भाषा र मौलिक एवम् परम्परागत धर्म भन्ने गरेको पाइएतापनि प्रश्नावलीमा थर, पुर्खौली भाषा र मौलिक धर्महरू सबैको कोड उल्लेख नगरिएकाले सोझै अन्य जाति, भाषा र धर्म भनि विवरण सङ्कलन हुने अवस्था देखिएको महासंघको भनाई छ ।