काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् ।
नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका हुन् ।
घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय बाँकी रहेका बेला सन्दीपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेको र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् ।
सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन् । उनीविरुद्ध दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
उनले भनेका छन्, ‘भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको र अहिले जुन अवस्थाबाट आफू गुज्रिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपूर्ण समय रहेको छ, ‘मैले आफूलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु । अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’