सर्वोच्चले माग्यो चलचित्र बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णयको सक्कल फाईल

न्युजलय ३१ साउन २०७९, मङ्गलबार ०२:४८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल मागेको छ।


केसीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज प्रारम्भिक सुनुवाई गरी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नियुक्त गर्ने निर्णयको सक्कल फाइल मागेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।


उनका अनुसार सक्कल फाइलसहित छलफलका लागि दुवै पक्षलाई भदौ २ गते अदालतमा उपस्थित हुन भनिएको छ।


सरकारले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय साउन ९ गते गरेको थियो। त्यसविरुद्ध नरेश कुमार पौडेलले रिट दायर गरेका थिए। केसीलाई बोर्डको अध्यक्षको रूपमा काम गर्न नदिन अन्तरिम आदेश माग गरी रिट दायर गरिएको थियो।


तर सर्वोच्चले अन्तरिम आदेश भने दिएको छैन। अन्तरिम आदेश दिने या नदिनेबारे छलफलका लागि भदौ २ गते पेशी तोकेको अदालत प्रशासनले जनाएको छ।