काठमाडौँ । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा १४० जना बढीको मृत्यु भएको छ ।
दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल चोर्न आएका मानिसको भीडमा ट्यांकर विष्फोट भएको थियो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्याङ्कर पल्टिएर आगो लागेको र कम्तीमा १४० जना बढीको मृत्यु भएको प्रहरीले बीबीसीलाई बताएको छ ।
विस्फोटमा अन्य ५० जना घाइते भएका छन्, जसलाई जिगावा राज्यको रिङ्गिम सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटना मंगलबार राति भएको हुनाले, पुलिस अधिकारीहरूले मानिसहरूलाई ट्याङ्कर नजिक नजान चेतावनी दिएका थिए तर उनीहरूले बढ्दो भीडलाई नियन्त्रण गर्न सकेनन् । गाडी पल्टिएपछि पेट्रोल लिन मानिसहरुको भिड लागेपछि आगो फैलिएको थियो ।