२०७८ साल मङ्सिर १३ गते सोमबार

मैले देखेको पश्चिम बंगाल (यात्रा सस्मरण)

सेमन्त उपाध्याय ९ कार्तिक २०७८, मङ्गलबार ०४:२४ मा प्रकाशित

हामी नेपालीहरुलाई कोरोना कहरको लामो फुर्सद खासै फुर्सद जस्तो लाग्दैन, तर हिन्दुहरुको महान चाड बडादशैँको ५ दिने छुट्टी भने निकै महत्वपूर्ण र अर्थपूर्ण लाग्छ । त्यो समयमा घुमघाम र भेटघाटका कार्यक्रमहरु बन्ने गर्छन् । संयोगवश मेरो पनि यस पटक भारतको पश्चिम बंगाल घुम्ने र दशैँ मनाउने अवसर जुर्यो । 

दशमीको भोलिपल्ट इटहरीबाट काकडभिट्टा मेची पुल हुँदै भारतको पानीट्याङ्की लागेँ । मेची पुलमा सुरक्षा निकै कडा पारिएको महसुस गरेँ । नागरिकता, पासपोर्ट वा भोटरकार्ड र कोरोना भ्याक्सिन लगाएको कार्ड अनिवार्य लिएर जानुपर्ने प्रावधान रहेको थियो । सोहीअनुसार यात्राको श्रीगणेश गरियो । 

२०७८ असोज ३० गते पानी ट्याङ्कीबाट भारतको पश्चिम बंगालको जलपाइगुडि वानरहाट जानको लागि बिहान ११ बजे बसको टिकट लिएँ । बटको चिया स्टेट भन्ने ठाउँमा मेरो मामाघर छ । 

त्यो भूगोलमा जहाँ जहाँ गएँ, नेपाली भाषा सबैले बोल्दा रहेछन् । त्यो ठाउँमा आदिवासी जनजाती, बंगालीहरुको बसोबास छ । ती सबै मानिस नेपाली भाषा बुझ्छन् । पश्चिम बंगालका मानिसहरु हिन्दी, अंग्रेजी, नेपाली र बंगाली गरी चार भाषामा पोख्त पाइयो ।

कुनै पनि पर्यटकको लागि अर्को भुभागमा बटको बसमा गरिएको व्यवहारले मुख्य अर्थ राख्छ । पश्चिम बंगालभर यात्रा गर्दा बसका डाइभर र सहयोगिले गरेको सम्मान, यात्रीलाई गरेको सत्कार उदाहरणीय देखेँ । पानी ट्याङ्कीबाट चालसा यात्रामा हिडेकी बुढीआमा झुक्किएर वानरहाट नजिक पुग्नुभएछ । त्यसपछि बसका डाइभर र सहयोगीले अर्को बस खोजेर पैसा तिरिदिएर ति बुढी आमालाई गन्तब्यसम्म पुर्याएको देखेँ । निकै राम्रा र सहयागी मनहरु पाउँदा बसमा यात्रा गरेका सबै यात्रीहरु खुशी देखिन्थे । 

चार घण्टा लामो बस यात्रापछि जलपाइगुडी जिल्लाको बानरहाट बजारमा पुगियो बानरहाटदेखि सानो भेनमार्फत् कटलगुडी यात्रा सुरु भयो । १ घण्टा ३० मिनेटको यात्रापछि गन्तब्य नजिक पुगियो । स्थानीय भाषामा टोटो भनिने सिटी वा रिक्सामा ३० मिनेट जति यात्रा गरेपछि कटलगुडी पुगियो । 

कटलगुडीमा बग्ने खोला खानावर्ती वारी भारतको पश्चिम बंंगाल जलपाइगुडी र पारी भुटानको गाउँ पर्दोरहेछ । भुटानमा अन्तराष्ट्रिय आवत जावत बन्द भएकोले भुटानको यात्रा गर्ने रहर हुदाँहुदै पनि जान सकिएन ।

भारतमा २८ स्टेट प्रत्येक प्रान्तको आफ्नो आफ्नो नियम कानुन र कर्तव्य र अधिकार छ । पश्चिम बंगालमा मात्र लगभग ९ करोड जनसंख्या छ । यो नेपालको भन्दा ३ गुणा बढी हो । यहाँको प्रमुख आयस्रोत चिया, काठ हो । पश्चिम बंगालमा पहाडदेखि तराइसम्मको भुभाग पर्छ । यहाँ विभिन्न जातजातिका मानिसहरु बस्छन् ।

पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जी काग्रेंस इण्डियाबाट पार्टी फुटाएर चुनावमा भारीमतले जितेर मुख्यमन्त्री भएकी हुन् । बट र पूरै भारतमा रासन कार्डमार्फत प्रत्येक भारतीयलार्ई खानका लागि चामल, आटाँ, चिनी तेल, अनिवार्य चिजहरु सरकारको तर्फबाट प्रत्येक घरलार्ई उपलब्ध हुन्छ । 

कोरोना कहरका कारण प्रत्येक व्यक्तिलार्ई ५ के.जी चामल, आँटा थप दिइएको थियो । प्रत्येक विद्यार्थीलार्ई स्कुलका तर्फबाट ३ के.जी चामल थप गरिएको रहेछ । सरकारी विद्यालयमा प्रत्येक विद्यार्थीलार्ई विद्यालय पोशाक, स्कुलमा खाना, खाजा र किताब निःशुल्क छ । प्रत्येक विद्यार्थीको बैङ्क खाता खोलिदिने, ८ कक्षा पास गरेपछि छात्रालार्ई साइकल, १२ कक्षासम्म निःशुल्क शिक्षा, +२ पास गरिसकेपछि त्यसभन्दा माथि पढ्नका लागि रु ६०,००० लोन, १० कक्षा पास गरेपछि ल्यापटप किन्न १० हजार अनुदान दिने वा ल्यापटप उपलब्ध गराइदिने सम्पूर्ण काम स्थानीउ गाउँ पञ्चायत र प्रान्तले गरेको रहेछ । 

जलपाइगुडी जिल्लामा जताततै चिया बगान सम्पुर्ण सरकारको स्वामित्वमा रहेछ । चिया बगानमा काम गर्ने कामदारलार्ई सरकारले आवासको व्यवस्था गरिदिएको रहेछ । सम्पूर्ण कामदारलार्ई खानाका निम्ति रासन कार्डमार्फत दाल, चामल, आँटा, चिनी, तेल, नुन उपलब्ध गराइदिने, स्वास्थ्यका लागि ५ लाख बराबरको स्वास्थ्य बिमा सरकारको तर्फबाट गरिदिएको छ । खान, बस्न, शिक्षा र स्वास्थ्य राज्यले उपलब्ध गराइदिएपछि बटका जनता सरकारसँग खुसी छन् । 

वानरहाटमा पनि प्रायः नेपाली मुलका मानिसहरु बस्छन् । जसले नेपाली परम्परा र संस्कृतीलाई पछ्याएका छन् । प्रत्येक नेपालीहरुको चाडपर्वहरु यता नेपालमा जस्तै त्यहाँपनि हर्षउल्लासका साथ मनाउने, यता उता जाने आउने पर्छन् । 

चियाबगानमा काम गर्नको लागि १६ वर्षदेखि ६० वर्षका मानिसलाईँ अनुमती छ । कामदारलाई उपदान, पेन्सनको व्यवस्था छ । न्यूनतम तलव २०० (दुई सय) हुन्छ । ज्यालादारीमा काम गर्न पाइन्छ । हप्तामा २ दिन काम गर्दा खान पुग्छ भने अरु दिन किन जानु भन्ने सोँच स्थानीयहरुको देखिन्छ । 

६० वर्ष काम गरेपछि एकमुष्ठ पैसा आउने र प्रत्येक महिना पेन्सनका रुपमा पैसा आउने, ६० वर्ष पुरा भएपछि १,००० रुपैया वृद्धभत्ता पाइने सुविधाले गर्दा वृद्धवृद्धाहरु पनि खुसी देखिन्छन् । 

प्रायः सबैले घरमा गाईबाख्रा र परेवा पालेका छन् । दुधको चिया पिउनका लागि मात्र गाई पालेका छन् । दुध बेच्ने चलन नै रहेनछ । गाई फुकायो छोडिदियो, बेलुका आफै घरमा आउने रहेछन् । चिया पत्ति गाईले नखाने हुँदा चिया बगानमा पनि डर भएन । 

कसैको घरमा करेसाबारी हुँदैन । दाल, खाना, अचार, रोटी, पुरी बटको मुख्य खाना रहेछ । मासु प्रायः सबैले खाने गर्छन् । त्यसमाथि माछा औधी मन पराउने र भान्साको अनिवार्य परिकार जस्तै हुने स्थानीय नेपाली केदार भट्टराइले बताउनुभयो । 

नेपालीजस्तै भारतीयहरुले पनि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि खेपिरहेका छन् । बट पेट्रोल प्रति लिटर भारु रु ११० पर्ने रहेछ । म गएको पश्चिम बंगाल जलपाइगुडी जिल्लामा त खाना पकाउने एलपि ग्याँस पाउन बिजुलीको मिटर पाउन जस्तो सम्पूर्ण कागजात चाहिँदो रहेछ । सरकारी कार्यालयमा गएर निवेदन दिएर १ महिनामा १ वटा ग्याँस सिलिण्डर मात्र उपलब्ध गराउने प्रावधान रहेछ । महिलाको नाममा लिँदा पैसा केही सहुलियत रहेछ । 

२० वर्षभन्दा माथि १ परिवारको २ छोरीलाई विवाह गर्दा गाउँ पञ्चायतले भारु २५ हजार रुपैया सहयोग गर्छ । सरकारी हस्पिटलमा बच्चा जन्माउँदा सुत्केरी यातायात खर्च ५ हजार रुपैया एक पटक अनि सुत्केरी स्याहार, बच्चाको पौष्टिक आहार महिनै पिच्छे पाउने प्रावधान छ ।

पश्चिम बंगाल जलपाइगुडी जिल्ला वानरहाट कटलगुडी टी स्टेटको चार दिन लामो बसाइमा त्यहाँका सबै धर्मका मानिसहरुबिच आपसी मेलमिलाप रहेको पाइयो । सबैको सवैले सम्मान आदर र सत्कार गर्दछन् । सबै धर्म, समुदाय एक आपसमा मिलेर बसेको अनुभुति गर्न सकिन्छ । 

त्यस क्षेत्रमा मुख्यतः ३/४ वटा पार्टिको (राजनैतिक) चर्चा परिचर्चा सुनियो । भा.ज.पा.(भारतीय जनता पार्टि), सी.पि.आइ.(कम्युनिष्ट पार्टि अफ इन्डिया), सी.पी.आइ.एम.(कम्युनिष्ट पार्टि अफ इन्डिया माक्सवादी), भारतीय कांग्रेस पार्टि, आदि । 

अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल हो । प्रधानमन्त्रीलाई स्थानीयहरु सकारात्मक रुपमा नै हेर्छन् । तर अलि बढी साम्प्रदायिक, धार्मिक सरकार भयो भन्ने गुनासो यदाकदा पाइन्छ । यो हिन्दु, मुसलमान, क्रिश्चियन, इसाइ विभिन्न धर्म मान्ने सबैको विशाल भारत हो । राजनितिले धर्म प्रतिको आस्थामा चोट पुर्याउन हुँदैन, सबै धर्मप्रति समान दृष्टिले राज्यले हेरोस् भन्ने चाहना छ । जसले सबैलाई आफ्नो सरकार र देशप्रति झन् बफादार र इमान्दार बनाउँछ । त्यही भएर सरकार अब आउने चुनावमा कांग्रेस र कम्युनिष्टहरुको सिट बढ्ने र भाजपाको सिट घट्ने अनुमान पनि छ । 

वानरहाटबाट सिलगुडिसम्मको रेल टिकट काटियो । भारु ५० मै नागाराकटा, डामडिम, चालसा, मालवजार, वडलावारी, नागराकोट, सेवक स्टेशन पार गर्दै तीन घण्टामा सिलिगुडि आइपुगियो । भारतको रेलमा धेरै चोरी र डकैती हुन्छ भन्ने सुनेको थिएँ । तर कहीँ पनि त्यो घटना थाहा पाइनँ । बाटोबाटोमा चिया, चटपटे, गरम समोसाको स्वाद लिँदै पहिलो रेलयात्राको अनुभव बटुलेँ । सिलिगुडीबाट फेरी पानीटेंकीसम्मको बस यात्रा गरेँ । मेचीपुल वारी आइपुग्दा आफ्नो देश आइपुगियो भने मनको हर्षलाई बढाउँदै, हाँस्दै यात्रालाई अविस्मरणीय यादको रुपमा मन मुटुभित्र लगेर ताल्चा लगाएँ । चाहिएको बेला मनको साँचो खोल्ने वाचासहित यात्रा समाप्त भयो । 

इटहरी ५, सुनसरी