हतुवागढी-२ कला संस्कृति संरक्षण सम्बर्द्धन कार्यक्रम सम्पन्न

अर्जुन राई अपहेलित ३० असोज २०७८, शनिवार ०१:०३ मा प्रकाशित

दिमालुङ । भोजपुरको हतुवागढी-२ स्थित पूर्णे खेल मैदानमा कला संस्कृति संरक्षण सम्बर्द्धन कार्यक्रम २०७८ सम्पन्न भएको छ । 

वडा दसैं तथा शुभ दिपावलीको अवसरमा बुधबार आयोजित उक्त कार्यक्रम हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । 

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी प्रेमकुमार राईले हतुवागढी आफैमा एतिहासिक क्षेत्र रहेको उल्लेख गरे । 

अध्यक्ष राईले हतुवागढीमा आगन्तुक पर्यटकलाई लोपोन्मुख बाजा विनायो, मुर्चुङ्गा र पातको धुन सुनाएर परिचित गराउन सकिने हुँदा त्यसको संरक्षण अपरिहार्य रहेको बताए । 

हतुवागढी गाउँपालिका वडा नम्बर २ को प्रायोजन तथा हतुवागढी-२ कला संस्कृति संरक्षण तथा सम्बर्द्धन कार्यक्रमको आयोजना रहेको उक्त कार्यक्रम अन्तर्गत हतुवागढी-२ वडाबासीबिच विभिन्न प्रतियोगितात्मक खेलकुद साथै साहित्य समावेश गरिएको थियो । 

जस अन्तर्गत हतुवागढी-२ भित्रमा कविता प्रतियोगिता, अन्तर टोल विकास संस्था स्तरीय डोरी तान प्रतियोगिता, लोपोन्मुख बाजा बिनायो, मुर्चुङ्गा र पात बजाउने, महिला तर्फ ४०० मिटर र पुरुष तर्फ ६०० मिटरको दौड प्रतियोगिता समावेश गरिएको थियो । 

सहभागी मध्य कविता प्रतियोगितामा रुवामाबुङ राई प्रथम, गर्जमान राई दोस्रो, शृष्टीबुङ राई तेस्रो भएकी छिन्  । 

त्यसै गरि ७ जनाको समुहमा गराइएको अन्तर टोलविकास स्तरीय टोरी तान प्रतियोगितामा माथिल्लो टोल विकास प्रथम,  दितेनी टोल विकास दोस्रो र रक्षक टोल विकास तेस्रो भएका हुन् । 

पुरुष तर्फको दौडमा एङ्क कुमार राई प्रथम, अनिस राई दोस्रो भएका छन् भने महिला तर्फको दौडमा नविना राई प्रथम भएकी हुन्  । 

लोपन्मुख बाजा मुर्चुङ्गा बजाउने प्रतियोगितामा वाचिमाया राई प्रथम, बिनायो र पात बजाउने प्रतियोगितामा जाहेरमाया राई प्रथम भएकी हुन् । 

प्रतियोगितामा विजेतालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।  

कार्यक्रमकाबीच हतुवागढी-२ मा शिक्षा, खेलकुद लगाएतको क्षेत्रमा सकृय युवाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।

नेपालको लोक सस्कृतिको अनुसन्धान र संरक्षण, हतुवागढीलाई पर्यटन क्षेत्रमा विकास र खेलकुद क्षेत्रमा विश्वको एक चिनारी स्थापित गर्न कार्यक्रम आयोजना गरिएको हतुवागढी-२ कला संस्कृति संरक्षण सम्बर्द्धन कार्यक्रमका संयोजक हिरण राईले जानकारी दिए ।

डिकविर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि तथा हतुवागढी-२ का वडाध्यक्ष विचारी थापा, हतुवागढी गा.पा. महिला सदस्य कमला राई, सहित्यकार पूर्ण सन्ध्या समाधी, समाजसेवी वुद्विजिवी लगायत स्थानिय युवाहरुको उपस्थिति रहेको थियो ।