इटहरी । सामाजिक सञ्जालमा विभिन्न चलेका अनलाइनहरुको पेज ह्याक गरेर फिसिङ लिंक पोस्ट गर्ने क्रम बढेको छ । यस्ता लिंकमा क्लिक गर्दा आफ्नो फेसबुकको मात्र नभएर तपाइको डिभाइसकै गोप्य कुरामा ह्याकरको पहुँच पुग्ने विज्ञहरुले बताएका छन् ।
नेपाल लाइभ, अनलाइनखबर र भारतको पञ्जाब केशरी अनलाइनको फेसबुक पेजबाट यस्तो लिंक पोस्ट गरेको भेटिएको छ । ती वेवसाइटका पेजको एडमीन प्यानलसम्म पहुँच बनाएर ह्याकरहरुले यस्तो पोस्टलाई ती पेजबाट स्पोन्सर नै गराएका छन् । जसको कारण छिनभरमै लाखौं प्रयोगकर्तासम्म त्यस्ता लिंक पुग्ने हुन्छ ।
यस्ता लिंकहरुभित्र वेवसाइटकै कपि साइट बनाएर त्यहाँ ट्रोजन जस्ता माल्वेयरहरु झुक्याएर राखिएको हुन्छ । यस्ता माल्वेयरहरु प्रयोगकर्ताको डिभाइसमा पसेमा डाटा ह्याक हुने अत्याधिक सम्भावना हुन्छ । त्यसैले यस्ता लिंकहरु जथाभावि खोल्नु हुँदैन ।
यस्ता लिंकहरु चिन्ने सजिलो तरिका भनेको जुन पेजको नाममा यो पोस्ट गरिएको छ, त्यो पेजको लिंकको साटो यहाँ गुगलको अर्कै लिंक देखाउने गर्छ । त्यसैले सजिलै छुट्याउन सकिन्छ ।