इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण

न्युजलय ६ जेठ २०८१, आइतबार ०८:३३ मा प्रकाशित

काठमाडौँ । इन्जिनमा आगो लागेपछि एयर इन्डियाको विमानको आपतकालीन अवतरण भएको छ ।

बैङ्गलुरुबाट कोची उड्न लागेको विमानको एक इन्जिनमा आगो लागेपछि शनिबार राति ११ः१२ बजे आकस्मिक अवतरण भएको थियो । बैङ्गलुरुको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा फुल–स्केल आपतकाल घोषणा गरि विमानको सकुशल अवतरण गराइएको थियो । 

विमानमा १७९ यात्रु र ६ पाइलट दलका सदस्य रहेको जनाइएको छ । अवतरण गर्ने बित्तिकै आगलागी नियन्त्रणमा लिएर विमानमा सवार सबैको उद्धार गरिएको थियो ।

विमानको दाहिने इन्जिनमा आगलागी भएपछि पाइलट दलले बैङ्गलुरु विमानस्थल मै विमान फर्काउने निर्णय लिएको एयरलाइन्सले जानकारी दिएको छ ।