दार्चुला जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

न्युजलय ३० कार्तिक २०८१, शुक्रबार ०५:१५ मा प्रकाशित

काठमाडौँ ।   दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

दार्चुला प्रहरीका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो । 

दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी जीप चालक सुनिल जोशी घाइते भएका छन् । 

मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो।