इटहरी उपमहानगरपालिकाले हटायो नियमविपरीतको पार्किङ ठेक्का, पैसा उठाए सुचना दिन आह्वान

न्युजलय ६ साउन २०८१, आइतबार ०२:३९ मा प्रकाशित

इटहरी । पार्किङ स्थल नै नभएको इटहरी उपमहानगरपालिकाले नियमविपरीत लगाउँदै आएको पार्किङ ठेक्का यो आर्थिक वर्षदेखि हटाएको छ ।


इटहरी ९ मा बसपार्क निर्माणाधिन रहेकोले यो आर्थिक वर्षमा पार्किङ ठेक्का नलगाउने राजस्व शाखा प्रमुख सन्तोष ढकालले जानकारी दिए । कसैले अनाधिकृत रुपमा संकलन गरेको पाए उजुरी दिन ढकालले अनुरोध गरेका छन् ।


धेरै वर्षदेखि नियमविपरीत लगाइँदै आएको पार्किङ ठेक्का यो पटकदेखि हटेको छ । यससँगै अबदेखि गुडिरहेको गाडीले पार्किङ शुल्क तिर्नुपर्ने छैन । 


इटहरी उपमहानगरपालिकाले यसअघिसम्म नियमविपरीत पार्किङ ठेक्का लगाएर शुल्क उठाउँदै आएको थियो । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ देखि त्यस कार्यलाई सच्याएको छ । 


तोकिएको पार्किङ स्थलमा रोकिएका सवारी साधनसँग मात्र पार्किङ शुल्क लिने प्रावधान ऐनमा छ । तर उपमहानगरपालिकाले आजसम्म कतैपनि आधिकारिक पार्किङ स्थल तोकेको छैन । उपमहानगरपालिकाले वर्षेनी नियमविपरीत पार्किङ ठेक्का लगाउँदै आएको थियो भने ठेक्का पार्ने ठेकेदारहरुले गुडिरहेको सवारी रोकेर अवैधानिक रुपमा पार्किङ शुल्क उठाउँदै आएका थिए ।


द्वारिकलाल चौधरी मेयर हुँदा स्मार्ट पार्किङ स्थल निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइएको थियो । तर त्यो पार्किङ स्थल बन्न सकेन । त्यसअघि र त्यसपछि कुनैपनि पार्किङस्थलको व्यवस्था उपमहानगरपालिकाले गर्न सकेको छैन । मुख्य चोक वरपर भएका खुला जमिनमा पार्किङ सेवा सञ्चालन गर्ने पहल भने भइरहेपनि ठोस काम अघि बढ्न सकेको छैन ।


गुडिरहेका सवारी साधन रोकेर शुल्क उठाउन सक्रिय युवाहरुबाट सवारी चालक तथा व्यवशायीहरु दुव्र्यवहारमासमेत पर्ने गरेका थिए भने उनीहरुविरुद्ध उजुरीको आधारमा मेयर चौधरीको पालामा पनि केही पक्राउ परेका थिए । केही साताअघि रिपोर्टिङको क्रममा रहेका पत्रकारहरुमाथि नै शुल्क असुल्न खटाइएका व्यक्तिले दुव्र्यवहार गरेका थिए । उजुरीपछि उनी पक्राउ परेका थिए ।


नगरकै सभ्यता र सुशासनमा प्रश्न उठेको भन्दै नगरवासीहरुले अनाधिकृत ठेक्का र शुल्क असुल्ने कार्यप्रति विरोध जनाउँदै आएका थिए ।


गुडिरहेको गाडीबाट पार्किङ शुल्क असुल्ने व्यक्तिद्वारा पत्रकारमाथि दुर्व्यवहार


गुडिरहेका गाडी रोकेर पार्किङ्ग शुल्क लिएको गुनासो, पक्राउ परेका दुई जना छाडिए