गुडिरहेका गाडी रोकेर पार्किङ्ग शुल्क लिएको गुनासो, पक्राउ परेका दुई जना छाडिए

न्युजलय १८ मङ्सिर २०८०, सोमबार ०८:२० मा प्रकाशित

इटहरी । गुडिरहेका मालवाहक गाडीहरुलाई रोकेर बाटोबाटै पार्किङ शुल्क लिइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर पुर्वको व्यापारीक नगरी इटहरीमा त्यस्तै गरिन्छ । 


उपमहानगरपालिका प्रवेश गर्ने गाडीहरुलाई रोकेर बाटोबाटै पार्किङ शुल्क लिइ उपमहानगरपालिकाको रसिद थमाइने गरेको व्यवशायीहरुले गुनासो गरेका छन् । वर्षौंदेखिको यो समस्या आजका दिनसम्म ज्युँका त्युँ छ । अति भएपछि आइतबार ईटा व्यवसायीहरुले इटहरी प्रहरी र इटहरी उपमहानगरपालिकासँग यो विषयमा गुनासो गरेका छन् । 


व्यवशायीको टोलीले नगरप्रमुख हेमकर्ण पौडेललाई भेटेर यस्तो गुनासो गरेका हुन् । उनीहरुले पार्किङ्ग नै नगरेको गाडीसँग पार्किङ्ग शुल्क लिइएको र त्यसले व्यवशायीहरुलाई मारमा पारेको गुनासो गरेका थिए । जवाफमा पौडेलले आफूले सो विषयमा बुझ्ने बताएका थिए ।


प्रहरीले भने दुई जना युवालाई शुल्क असुलेको आरोपमा पक्राउ गरेको थियो । पछि सादा तारेखमा छाडेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर कैलाश चौधरीले जानकारी दिए ।


उपमहानगरपालिकाले पार्किङ शुल्क असुल गर्नको लागि १ करोड ५१ लाख रुपैँयामा ठेक्का दिएको छ । नियमतः उपमहानगरपालिकाले उपलब्ध गराएको पार्किङ स्थानमा पार्किङ गर्ने सवारी साधनसँग त्यस्तो शुल्क असुल गर्नुपर्ने हो । तर गुडिरहेको गाडीसँग पार्किङ शुल्क असुल्दा सवारी साधनहरु मारमा पर्ने गरेका छन् ।