सुनसरीमा भएको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय

न्युजलय ११ साउन २०८३, सोमबार ११:५६ मा प्रकाशित

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका –३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । 

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । आज बिहान बसेको बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए ।

आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता छन् । 

हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद सुरु भएको थियो ।