काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल नियमनबारे धारणा राख्दै राष्ट्रिय स्वाभिमानलाई कुनै हालतमा सम्झौता नगर्ने स्पष्ट गरेका छन्।
ओलीका अनुसार सामाजिक सञ्जाल दर्ता प्रक्रियामा आएका केही आलोचना निराधार छन्। उनले चार जनाको जागिर गुम्ने बहानाले राष्ट्रिय हितलाई कमजोर बनाउन नहुने उल्लेख गरे। राष्ट्रिय स्वाभिमान चार जनाको जागिरभन्दा ठूलो हुने भन्दै त्यस्ता रोजगारी फेरि खोज्न सकिने तर देशको स्वाभिमान गुमे पुनः फर्काउन नसकिने उनको भनाइ थियो।
सामाजिक सञ्जाल बन्द गर्ने होइन, केवल दर्ता गराउन आग्रह गरिएको ओलीले दोहोर्याए। उनका अनुसार सरकारले एक वर्षदेखि निरन्तर ताकेता गरे पनि कम्पनीहरूले दर्ता नगरेपछि हालको अवस्था सिर्जना भएको हो।
नाकाबन्दीको कठिन समय स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई कसैले हेप्न नहुने चेतावनी दिए। उनले आफूलाई व्यक्तिगत रूपमा हैन, तर मुलुकलाई हेप्न खोजिएको कुरा सहन नसक्ने स्पष्ट पारे।
जेन–जि पुस्ताले भोलि आन्दोलन गर्न लागेकोमा समेत ओलीले जानकारी रहेको जनाएका छन् । उनले यो पुस्ता राष्ट्रियता, कानून र स्वाभिमान बुझ्न सक्षम रहेको भन्दै यसको दुरुपयोग हुनसक्ने चेतावनी दिए। उनले युवा पुस्तालाई सचेत रहन आह्वानसमेत गरे।