किरात राई यायोक्खा हतुवागढीको आयोजनामा जनगणना सम्बन्धि अन्तरक्रिया

अर्जुन राई अपहेलित १२ कार्तिक २०७८, शुक्रबार ०७:१७ मा प्रकाशित

फलामढुङ्गा । किरात राई यायोक्खा हतुवागढी गाउँ समितिको आयोजनामा जनगणना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


शुक्रबार भोजपुरको हतुवागढी ४ फलामढुङ्गा स्थित किरात राई यायोक्खा भोजपुर जिल्ला अध्यक्ष सिर्जना राईको उपस्थितिमा आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।


विगतका दिनहरुमा सुचना सम्प्रेषणको अभावमा सहि तथ्यांक आउन नसकेको उल्लेख गर्दै जिल्ला समिती अध्यक्ष सिर्जना राईले आगामी दिनहरुमा राई जातिको सहि तथ्यांक संकलनका लागि जिल्ला देखि प्रत्येक वडा समितिहरु यस अभियानमा लाग्नु पर्ने बताइन् । 


कार्तिक २५ देखि मंसिर ९ गते सम्म सञ्चालन हुने जनगणनामा किरात राईहरु कोही नछुट्नका लागि जातिको महलमा ‘राई’, धर्मको महलमा ‘किरात’ भाषामा आफ्नो थरगत भाषा लेख्न र लेखाउन जिल्ला अध्यक्ष राईले बताइन् । 


आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ मा राई जातिको सहि तथ्यांक संकलनका लागि जिल्ला कमिटीको अभियानलाई सफल पार्न गाउँसमितिद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको किराया हतुवागढीले जनाएको छ । 


अन्तरक्रिया कार्यक्रमकाबिच जिल्लाबाट प्राप्त प्रचार पत्रहरु प्रत्येक वडागत रुपमा विभाजन गरि किरात राई बस्तीहरुमा सुसूचित गर्न निर्देशन दिइएको किराया हतुवागढीका अध्यक्ष मान बहादुर खाम्लुङले जानकारी दिए । 


किरात राई जातिको जातीय, भाषिक, सांस्कृतिक, पहिचानलाई स्थापित गराउन र संविधानमा व्यवस्था भएको मौलिक हकको सम्बोधन गर्न गराउन जनगणनाबाट आउने तथ्यांक महत्वपूर्ण हुने हुँदा १२ औं जनगणनामा सम्पूर्ण किरात राईहरुले सहि विवरण लेखाउन यायोक्खाद्वारा जारी अपिल पत्रमा उल्लेख छ । 


यायोक्खाद्वारा जारी अपिल पत्रका अनुसार किरात राई समुदायले जातिको महलमा राई, धर्मको महलमा किरात, मतृभाषा र पूर्खाको भाषामा आफ्नो थर गत भाषा र दोस्रो भाषामा नजिकको राई जातिको कुनै एक थरगत भाषा वा किरातीहरु मध्येको कुनै एक भाषा लेखाउन पर्ने छ । 


अध्यक्ष मान बहादुर खाम्लुङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुर अध्यक्ष सिर्जना राई, उपाध्यक्ष रामध्वोज राई, सचिवालय सदस्य सत्यकला राई, किरात राई बान्तावा खिम हतुवागढी अध्यक्ष नवीन राई, आदिवासी जनजाति महासंघ हतुवागढी अध्यक्ष श्याम कुमार राई, हतुवागढी ४ का वडासदस्य चतुरमान राई, हतुवागढी-७ का वडासदस्य जंगराज राई लगाएत किराया वडा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।