गायिका दिलमायाको सुसाइड नोट फेक, हत्या भएको निष्कर्ष

न्युजलय ४ साउन २०७९, बुधबार ०२:५८ मा प्रकाशित

काठमाडौ । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सिन्धुपाल्चोक घर भइ काठमाडौंको गोठाटार बस्ने ३८ वर्षका खिलबहादुर श्रेष्ठले हत्या गरेका हुन् ।


असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन् । उनको फेसबुकमा ‘सुसाइड नोट’ पोष्ट भएपछि उनले आत्महत्या गरेको अनुमान गरिएको थियो । 


तर अनुसन्धानको क्रममा उनीसँगै उनका प्रेमी खिलबहादुर श्रेष्ठ पनि बस्दै आएको खुलेको थियो । उनले आफू कोठामा पुगेको र निस्केको समय ढाँटेको पत्ता लगाएपछि उनैले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको हो । प्रहरीले दिलमायाको कोठामा उनले फेसबुकमा स्टाटस पोष्ट गर्न प्रयोग गरेको भनिएको मोबाइल फेला पार्न सकेको छैन ।