एमाले इटहरीमा आचार्य पक्षविनै चुनावको तयारी : अध्यक्षमा सुब्बा र उपाध्यक्षमा चौधरी निर्विरोध

न्युजलय १२ कार्तिक २०७८, शुक्रबार ०२:२७ मा प्रकाशित

इटहरी । एमाले इटहरीको अध्यक्षमा याम सुब्बा निर्विरोध निर्वाचित भएका छन् । विहीबार भएको मनोनयन दर्तामा सुब्बाबाहेक अरु कसैको उम्मेदवारी नपरेपछि सुब्बा निर्विरोध निर्वाचित भएका ह्ुन् । 

यसैगरी उपाध्यक्षमा पनि दुखीलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् । 

विहीबार मनोनयन दर्ता गरेर शनिबार चुनाव गर्ने तयारी रहेको छ । बाँकी पदहरुमा चुनाव हुने सम्भावना छ ।

विहीबार नै नगरको नयाँ नेतृत्व चयन गर्ने योजना भएपनि गुट विवाद झन् चकिएको थियो । सहमती नभएपछि भीम आचार्य पक्ष विनै चुनावको तयारी भएको हो । आचार्य पक्षले उपाध्यक्ष र सचिव पद मागेको बताइएको छ । उपाध्यक्ष दिन तयार भएपनि सचिव नदिने अडान ओली पक्षले लिएपछि आचार्य पक्ष बाहिरिएको थियो ।

१० बुँदे लागु गर्ने विषयमा सुनसरीमा देखिएको विवादले नगर अधिवेशनमा चर्को रुप लिएपछि जिल्ला अधिवेशनसमेत तनावग्रस्त हुने अनुमान गरिएको छ । प्रदेश १ मा भीम आचार्यको गृहजिल्ला सुनसरीमै सबैभन्दा धेरै विवाद देखिएको छ । विवाद मिलाउन एमालेको केन्द्रिय कमिटिसमेत उदासिन देखिएपछि आउँदो स्थानीय तहको चुनावमा पार्टीलाई ठूलो असर पर्ने भन्दै कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।