विराटनगर । मोरङमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।
बुढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे मनाउन रिजन आइतबार राती घर गएका थिए । नानु र रिजन साथी हुन् ।
बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ–सात जनाको समूहसँग दाहालको विवाद भएको थियो ।
विवाद बढदै गएपछि उनीहरुले रिजनलाई लिएर बुढीगंगा ६ डम्बर बाहदुर लिम्बुको बारीमा लगेर आक्रमण गरेका थिए ।
उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ । टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दाँया हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले दुई युवालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
प्रहरीले बढीगंगा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ दव्रेबास घर भइ इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरी कार्यालयमा ल्याएर घटनाबारेमा अनुसन्धान सुरु गरेको छ ।