भारतको एक अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०७:२७ मा प्रकाशित

काठमाडौं । भारतस्थित भोपालको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुहरुको मृत्यु भएको छ । कमला नेहरु भवनको तेस्रो तल्लास्थित बाल विभागमा लागेको आगलागीमा परी नवजात शिशुहरुको मृत्यु भएको हो । 


स्थानीय समयअनुसार राति ९ बजेदेखि लागेको आगो तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उक्त वार्डमा ४० बच्चा राखिएको थियो । जसमा ३६ जनालाई सुरक्षित निकालिएको छ । 


मन्त्री विश्वास सारंगका अनुसार मृतक शिशुका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँको आर्थिक सहायता दिने घोषणा गरेका छन् । 


यसअघि मुख्यमन्त्री शिवराज सिंह चौहानले ३ बच्चाको ज्यान गएको बताएका थिए । उनले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् । 


ती शिशुहरुलाई नयाँ भवनमा स्थानान्तरण गर्नुअगाडि नै उक्त घटना भएको बताइएको छ । उक्त घटनापछि कयौं बिरामीलाई स्ट्रेचरबाट बाहिर निकाली अन्य अस्पतालमा सारिएको छ । 


आगलागीको कारण खुलेको छैन । अस्पतालभित्र मृतकका अभिभावकलाई जान दिइएको छैन ।