सुनसरी एमाले मिलेसँगै खेमराज पोखरेल बने अध्यक्ष

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०७:४४ मा प्रकाशित

सुनसरी । समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरी आजबाट भने औपचारिक रुपमा एक भएको छ । 


संस्थापना र जेठ २ अघिको कमिटीको पक्षमा उभिएका नेताहरुले आफु पायक गठित समानान्तर कमिटी खारेज गरेसँगै एमाले सुनसरीको विवाद समाधान भएको हो । 


सोही बमोजिम इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला पार्टी कमिटी एक भएको घोषणा गरेको छ । नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको पूर्ण बैठकबाट त्यस्तो घोषणा गरिएको हो ।


पूर्ण बैठकले जिल्ला कमिटी एक हुनुका साथै नयाँ कमिटी गठन भएको घोषणा गरेको छ । कार्यक्रमका बिच औपचारिक रुपमा गठित जिल्ला कमिटीका पदाधिकारीहरुको नामावली समेत सार्वजनिक गरिएको छ ।


जस अनुसार नेकपा एमाले सुनसरी अध्यक्षको जिम्मेबारी खेमराज पोखरेललाई दिइएको छ । नयाँ गठित जिल्ला कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्द बस्नेत रहेका छन् । त्यसैगरी सचिवमा पर्शुराम यादव र शत्रुघन यादव छानिएका छन् । सह–सचिवको जिम्मेबारी भने लिलम बस्नेत र लोकेश निरौलालाई दिइएको छ । 


उक्त नामावली पूर्ण बैठकका बिच पार्टीका केन्द्रीय सदस्य तथा सह–इन्चार्ज जगदिस कुसियतले सार्वजनिक गरेका थिए । कुसियतले केन्द्रको निर्देशन बमोजित गठित समस्या समाधान समितिले जुटाएको सहमतिका आधारमा पार्टी पदाधिकारी तथा जिल्ला पंक्ति एक भएको घोषणा गरिएको बताए ।  


कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्य, जिल्ला इन्चार्ज धर्म निरौला, सह इन्चार्जहरु कुसियत सहित भगवती चौधरी र तैयब हुसेन लगायतको उपस्थिति रहेको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरुले विगतलाई विर्सेर वर्तमानलाई आत्मसाथ गरी अघि बढ्नु पर्नेमा जोड दिए । उनीहरुले सुनसरीमा जिल्ला कमिटी एक भएको सन्देशले केन्द्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिए । 

  

पूर्ण बैठकसँगै ७ सय बढी सदस्य रहेको जिल्ला कमिटी गठन हुने एमाले सुनसरीले जनाएको छ।