चार देशको सहभागितामा ‘एसीयन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु

न्युजलय १९ माघ २०८१, शनिवार ०५:२६ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूको सहभागिता छ । जसमा भारत, बांगलादेश, र पाकिस्तान छन् ।


यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा सहभागि छन् । 


कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले प्रमुख अतिथिको रूपमा बोल्दै अन्तर्राष्ट्रिय प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए । मन्त्री भण्डारीले प्रदेश सरकारले आउँदो वर्षको बजेटमा सुटिङबल खेललाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।


कार्यक्रममा एसीयन सुटिङबल फेडरेसनका महासचिव रविन्द्रसिंह तमोरले प्रतियोगिताको महत्वबारे प्रकाश पारेका थिए । 


गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न सुटिङबल वर्ल्ड च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेका थियो। उक्त प्रतियोगितामा कुल ११ देशको सहभागिता रहेको थियो। नेपालले यसपटकको प्रतियोगितामा आफ्नो प्रदर्शनलाई अझ सुधार गर्दै पदक तालिकामा अग्रस्थान हासिल गर्ने लक्ष्य राखेको छ।


यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले नेपाललाई खेल पर्यटनको केन्द्र बनाउने दिशामा योगदान पुर्‍याउने एसीयन सुटिङबल फेडरेसनका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष केशव विष्टले बताए ।