काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि सिनेमाहल खोल्न पाइने निर्णय गरिसकेको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फिल्म हल संचालन गर्न दिने निर्णय गरेको हो। कोरोना भाइरसको ओमीक्रोन संक्रमण फैलिएसँगै माघ पहिलो सातादेखिदेखि फिल्महरु बन्द थिए।
प्रशासनको निर्णयसँगै रिलिज भएर पनि प्रदर्शन रोकिएको फिल्म चपली हाइट ३ फेरि सिनेमा हलमा प्रदर्शन हुने भएको छ। अब यो फिल्म फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउनेछ।
पटकपटक रिलिज मिति सार्दै आएका निर्माता अर्जुन कुमारले पुस ३० मै फिल्म रिलिज गर्ने आँट गरेका थिए। तर रिलिज भएको तेस्रो दिनमा नै सरकारले फिल्महल बन्द गर्ने निर्णय गर्यो। जसकारण फिल्म रिलिज हुन नपाउँदा निकै घाटा लागेको उनले बताए।
फेरि पनि अर्जुन कुमार केही आशा बोकेर फिल्म रिलिजको तयारीमा छन्। राम्रै प्रतिक्रिया पाएको भएर दर्शकहरु फेरि हलसम्म आउनेमा उनी आशावादी छन् ।
फागुन १ गते कुनै पनि विदेशी तथा अन्य नेपाली फिल्महरु लाइनअपमा छैनन्।
सस्पेन्स थ्रिलर कथामा निर्माण भएको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्। यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतको अभिनय रहेको छ।