काठमाडौ । पुर्पक्षका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं छुट्ने भएका छन् । उनलाई तीन लाख धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ।
प्रसाईंसहित चार जनाले जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गरेका थिए । उक्त आदेशलाई उच्च अदालतले बदर गरेसँगै धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईसँगै प्रतिवादीहरू सुशिल बराल, डण्डपाणी रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमसँग पनि क्रमशः ५०, १० र ५० हजार धरौटी मागेको हो ।
जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।
दुर्गा प्रसाईंमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो।
प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।
उच्च अदालत पाटनले प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटी मागेको छ ।
प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको, स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो । जसमा अनुसन्धानपछि सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।
उच्च अदालतले दुर्गा प्रसाईं अहिले नै निर्दोष हुन् भन्न नसकिने तर उनी क्यान्सरका बिरामी समेत भएकाले थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै उच्च अदालतले उनलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।