प्रदेश १ मा पूर्वसरकारका निर्णय खारेज गरिने

न्युजलय १७ कार्तिक २०७८, बुधबार ०७:३६ मा प्रकाशित

मोरङ । प्रदेश १ मा पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय, नियुक्ति खारेजी गर्ने प्रक्रियामा लैजाने भएको छ।


नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएसँगै बनेको मन्त्रिपरिषद्ले पूर्वसरकार निर्णय खारेजी प्रक्रियामा लानेलगायत विभिन्न ३ वटा निर्णय गरेको हो।


विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार राती सम्पन्न बैठकले भीम आचार्य नेतृत्वको सरकार गठन भएपछि भएका विभिन्न नियुक्ति, सरुवा तथा निर्णयलाई खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको छ।

 

त्यस्तै बैठकले प्रदेशका १३७ स्थानीय तहबाट सिमान्तकृत, दलित र विपन्न तथा अल्पसंख्यकलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।


लोपोन्मुख संस्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने निर्णयसमेत बैठकले गरेको सामाजिक विकासमन्त्री जयराम यादवले जानकारी दिए।