आन्तरिक यात्रामा म सधैं जसो बुद्ध एयरमा र सकेसम्म झ्यालतिर, हिमाल देखिने पट्टीको सिट माग्ने गर्छु । आज भने “16D” को बोर्डिङ पास बोकेर जहाज भित्र पुग्दा त सेतै कपाल फूलेकी एक जना हजुरआमालाई पहिल्यै त्यो सिटमा बसेको भेट्टाएं ।
सामान्यतया हवाईजहाजमा मानिसहरू आफ्नो सिट नम्बरै नहेरि बस्ने कुरै हुन्न । “16C” को पास बोक्नु भएकी हजुरआमालाई, “हजुरको सिट त यता पो त आमा !” भन्दा “ऊ ती नानीले त्यो सिटमा राखिदिइन् अनि म त झ्यालपट्टि पो सरें त बाबू ! छोडिदिऊं कि !” भनी वहांले विमान परिचारिकातिर देखाएपछि मैले अन्दाज लगाए की आमालाई सायद सिट नम्बरको बारे थाहा नहुन सक्छ ।
मैले भनें, “भै गो भै गो झ्यालतिरै बस्नुस् ।”
प्यासेजको देब्रेतिर झ्यालपट्टी म भन्दा ३ सिट अगाडि करिब चार/पाँच बर्षका जस्तै देखिने एक बालक परिवार सहित बसेका रहेछन् । जब धावन मार्गमा हवाईजहाज हुंईकियो र बिस्तारै भूई छोड्यो उनी यसरी चिच्याए कि झन्डै आधासरो यात्रुहरूको ध्यान उनैतिर गयो । खासमा उनको बालसुलभ कराउने तरिका बाल–कार्टुनमा जस्तै थियो र उनी “अब आकाशमा जाने हो र मुन छुने हो” भन्दै शिसाको झ्यालबाट बाहिर हेर्दै चिच्याउन लागे । त्यो बालकको पहिलो हवाई यात्राको रोमान्चक चर्तिकलाले प्रायः यात्रीहरूको ध्यान उनीतिरै तान्यो ।
जहाज जब बादलमाथि पुग्यो, उनी फेरि कराए, “ड्याडी ड्याडी ऊ क्लाउड !” अनि फेरि अघिकै कुरा दोर्याए “अब मुन छुने हो ।”
भोलिबाट पुष शुरू । तर आजैबाट विराटनगर र यताको तराईमा घाम देखिन छाड्यो । मलाई लाग्यो मैले नै यो बर्षको हुस्सु आगमनको स्वागत गरें कि क्या हो । नत्र किन बिहानको फस्ट फ्लाईट नै बल्ल दिउसोको दुई बजे पछि उडिरहेछ !
विराटनगरबाट काठमाडौंका लागि पश्चिम उडेको विमानबाट दाहिनेतिर सेतै हिमाल देखिने भए पनि ती जेष्ठ नागरिक आमाको सेतो कपालयुक्त टाउकोले झ्याल छेकेको हुनाले कतै दुर्विनबाट हिमाल हेरेको त होइन जस्तो भान पनि हुन्थ्यो । तर त्योभन्दा बढी त आँखा र कान चाहिं त्यहि बालकतिरै गए । उनको पश्चिम दक्षिणको झ्यालबाट सिधा घाम टल्केर जहाज भित्रै छरपस्ट पनि ! जहाज उडिरहयो ।
बालकको आँखामा सिधा घाम परेकाले केही समयका लागि अभिभावकले झ्यालको पेन तल झारेर बालकको ध्यान अन्तै मोडिदिनु भयो । तर बालसुलभ गुणले के मान्थ्यो ! फेरि केही समय पछि अभिभावकले पेन खोलि दिए । झ्यालबाट बाहिर तलतिर देखिने धेरै चीजका बारेमा उनले आफ्नी आमालाई र अझ बढी बाबालाई सोधिरहे । उनका बाबुले पनि ठ्याक्कै त होइन तर केटाकेटीको चित्त बुझाउने तरिकाले जवाफ दिइरहे । बालक र उनका बाबू दुवैको ठुलो स्वर हाम्रा लागि भने मनोरन्जनपूर्ण !
जब जहाज काठमाडौ उपत्यकाको नजिक आईपुग्यो, फेरि बालकले तलतिर हेरेर चिच्याए, “बाबा ऊ त्यो के हो ?”
उनका बाबाले जवाफ फर्काए, “काठमाडौंका घरहरू !”
अनि बालक झन जोडले कराए, “धनकुटा ! धनकुटा !!”
अनि फेरि दोहोर्याए, “बाबा मैले मुन छुने हो । खोई त मुन !” यसपाली भने बाबाले जवाफ दिनै सकेनन् ।
अन्तमा जहाज काठमाडौंमा ल्यान्ड भयो । अनि ती बालक भर्याङबाट ओर्लेर एयरपोर्टको बसमा चढे पछि फेरि कराए, “बाबा यो त अ्रथ (Earth) हो । खोई त मुन (Moon)?” बाबाले सम्झाए, “हो बाबु यो काठमाडौंको अर्थ हो ।
छोराले सोधिरहे, “खोई त मुन ?”
बाबाले अन्तिम जवाफ फर्काए, “अघि त्यो आकाशमा एकपटक झ्याल लगाएको बेला मुन बाहिरपट्टि थियो । छुन मिल्थ्यो नि !”
बालकले खुशी नभए झैं गरि भने, “किन झ्याल लगाई दिएको त ? अब अर्को पल्ट त झ्याल लाउनै दिन्न। फेरि प्लेनबाट आकाशमा जाने हो ! मुन छुने हो !”
सहयात्री भएकोले बाबा चाहिंलाई कौतुहल पूर्वक मैले सोधे, “बाबुले धनकुटा चाहिं किन भनेको नि ?”
बालकका बाबाले जवाफ फर्काए, “भर्खरै यिनको मामाघर धनकुटा गएर आएकाले त्यस्तै लाग्या होला नि हवाईजहाजबाट !”
– सिताराम सुवेदी, परियोजना निर्देशक, एसओएस बालग्राम नेपाल
यात्रा संस्मरणः २०७९ मंसिर २९ गते बुद्द एयर फ्लाइट नं. ७०२