एसिया कपः आज नेपाल र भारत भिड्दै

न्युजलय १८ भदौ २०८०, सोमबार १२:१२ मा प्रकाशित

 काठमाडौँ  । एसिया कप अन्तर्गत नेपालले सोमबार(आज) भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन । 

पहिलो खेलमा पाकिस्तानसँग पराजय बेहोरेपछि भारतविरुद्धको खेलमा नेपालको भाउ अझै घटेको छ । पहिलो पटक एसिया कप खेल्दै गरेको नेपालले चार दिनअघि पाकिस्तानविरुद्धको खेल २३८ रनको विशाल अन्तरले गुमाएको थियो । 

नेपालले भारतको वरिष्ठ क्रिकेट टिमसँग पहिलो पटक सामना गर्न लागेको हो । यसलाई नेपालको क्रिकेट इतिहासकै सबैभन्दा ठुलो खेल पनि मानिएको छ । नेपाली क्रिकेटरले भारतका सुपरस्टार क्रिकेटरहरू विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, जस्प्रित बुम्राह जस्ता खेलाडी जस्तै खेल्ने सपना देख्थे । सोमबार नेपाली खेलाडीले त्यो सपना साकार पार्ने अवसर पाउने छन् । 

नेपाल र भारतबिच श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय मैदानमा खेल हुँदै छ । अङ्क तालिकामा भारत एक अङ्कमा छ भने नेपाल अङ्कविहीन छ ।