किसान कल्याण सहकारीको नाफा पौने तीन करोड

न्युजलय २६ असोज २०८२, आइतबार ०६:३५ मा प्रकाशित

इटहरी । इटहरीस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औँ साधारणसभा सम्पन्न गरेको छ । 

विभिन्न पाँच वटा इकाइमा गरेर संस्थाले गरेको साधारणसभामार्फत् आर्थिक तथा प्रगति प्रतिवेदनका साथै विभिन्न नीति तथा कार्यविधिहरु सर्वसम्मतले पारित गरेको छ ।

२४ हजार ४३२ सदस्य रहेको यो संस्था सुनसरीमै धेरै शेयर सदस्य रहेको संस्था हो । सुनसरीका विभिन्न स्थानमा गरेर नौ वटा सेवा केन्द्र सञ्चालनमा ल्याइरहेको किसान कल्याणले दुईवटा अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधि तथा सफ्टवेयर मार्फत विद्युतीय कारोबार सञ्चालन गर्दै आएको छ । 


संस्थाको सेयर पूँजी १४ करोड ६७ लाख रहेको छ भने संस्थाले १ अर्ब १० करोड ९६ लाख रुपैयाँ ऋण लगानी गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा संस्थाले २ करोड ६८ लाख रुपैयाँ नाफा गरेको संस्थाका प्रमख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए । संस्थाले आफ्ना सेयर सदस्यहरूलाई सेयरमा गरेको कारोबारको आधारमा ५ दशमलव ५ प्रतिशतका दरले सेयर लाभांश वितरण गरेको छ।

साधारण सभाले विभिन्न आठवटा नीति कार्यविधि तथा निर्देशिका पुनर्लेखन गरेको छ भने ४२ वटा निर्देशिका समायोजन गरेको छ। यसैगरी १० वटा नीति कार्यविधि तथा निर्देशिका खारेज गरेको छ।

सहकारीले साधारणसभाको अवसरमा विभिन्न व्यक्तिलाई सेयर सदस्यहरूलाई सम्मान समेत गरेको थियो । संस्थाले सदस्य शिक्षाका साथै सदस्यहरूलाई विभिन्न किसिमका सीपमूलक तालिमहरू समेत दिँदै सदस्यहरुको आर्थिक विकासमा जोड दिएको अध्यक्ष शालिकराम ढकालले जानकारी दिए ।

साधारणसभाका बिचमा संस्थाको शेयर सदस्य पुष्पराज भट्टराईले तयार गरेको कृषि र पर्यटन समृद्धिका आधार नामक पुस्तकसमेत लोकार्पण गरिएको थियो । वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी कृष्णविनोद लम्सालले पुस्तकको विमोचन गरेका थिए भने प्राध्यापक डा. दीवाकर रेग्मीले पुस्तकमाथि समिक्षात्मक टिप्पणी राखेका थिए ।