केही दिन अघिको तुँवालो र कुहिरोले चारैतिर बाट छ्याप्प छोपेर एक किसिमको उकुस–मुकुस अवस्थामा गुम्स्याएको इलाम बजारमा आज भालेको डाकसँगै पूर्वाकाशमा क्रमिक रुपमा कालो वादलका पर्दा च्यातिएर विहानीको मिर्मिरे उज्यालो देखा पर्न थाल्यो ।
क्रमशः त्यो बढ्दै गएपछि चारैतिर निक्कै टाढा–टाढा गजधम्म परेर अचल अवस्थामा उभिरहेका हरिया डाँडाहरुका आकृति सुस्त–सुस्त गतिमा अझ स्पष्टसँग निखारिएर आइरहेछ । यस अवस्थासम्म आकाशमा टाढा–टाढासम्म वादलका कुनै निशानी देखिँदैन, आकाश निलो सफा छ ।
पश्चिम दक्षिणतिर हेर्दा आफ्नो दृष्टि कहीँ गएर ठोक्किदैँन, धेरै तल–धेरै तल अनन्त क्ष्तििजको शून्यमा गएर बिलाउँछ । युगौदेखि लम्पसार परेर सुतिरहेको भानुपथको सडकमा एकाविहानै दुई तीन हुल दाउरेहरु आ–आफ्ना दाउराका भारी बोकेर टुँडिखेलबाट उकालो लागे ।
कसै कसैले सडकको बगलमा रहेको घरको बाहिरपट्टिको केहीक्षण आफ्नो भारी बिसाएर ठुलो स्वास लिन्छ र निस्फिक्री छाडिदिन्छ । हुनसक्छ ते स्वास लियाई र छोडाईले केहीक्षण अघिको पीडालाई निस्तेज पारिदिन्छ । उनीहरुका ति नाङ्गा पैताला र एकसरो च्याङ्ला लुगाले यो पौष माघको जाडोलाई चुनौति दिँदै आफ्नो वशमा पारेको छ ।
यस्ता हिउँदको जाडोलाई यसैगरी पचाइदिन्छन् उनीहरुले । मानौँ एक प्रकारले उनीहरु अभ्यस्त भइसकेका छन् । विस्तारै–विस्तारै सूर्यको कलिलो किरण पनि इलामको छातीभरि निस्फिक्रीसँग छरपष्ट भएर पोखिन थाल्यो । एक हुल परेवाहरु गणेशस्थानतिर केही फुर्तिसाथ उडेर गए ।
ति बहिनीलाई मैले देखेको यहीँ आएर हो । हुन त आँखाले त्यस्ता बहिनी कयौँ देखिसके तर छोटो अवधिमा मेरो आत्मालाई निकै संवेदनशील बनाउने आकृतिलाई म कसरी भुलौ ! गोरो वर्ण, बाटुला आँखा मतवाली भएपनि सलक्क परेको सुहाउँदिलो नाक, पातलो ओठ, राम्ररी स्याहार पु¥याउन नसकेको कपाल अनि केही नैराश्यताका भाव बोकेकी सिङ्गो एक प्रतिमूर्ति ।
उमेर त्यस्तै १४–१५ को हुनुपर्छ । सुरुका केही दिन बेवास्तासँग बितेपनि बारम्बार म बसेको ठाउँमा एकाबिहानै दाउरा पु¥याउन आइरहदा उसको बारेमा केही बुझ्ने जिज्ञासा उब्जनु स्वभाविकै थियो । एक दिन बिहानै उठेर चिया पिउन होटलमा झरे । बेञ्चमा तिनै बहिनी बसिरहेको देखेँ । मेरो उत्कृष्ट जिज्ञासालाई आत्माभित्रै कैद गर्न सकिन । भावनात्मक तवरबाट मेरो मुखबाट अनायस बोली फुट्यो–
बहिनीके घर कहाँ हो ?
‘भञ्ज्याङ ।’ छोटो उत्तर थियो उनको ।
यहाँबाट कति टाढा पर्छ ?
‘चार–पाँच घण्टा हिड्नुपर्छ ।’
अनि यति बिहानै कसरी आइपुग्यौ ?
‘राती एक बजे तिरै उठेर हिड्नुपर्छ ।’
त्यत्रो लामो बाटो एक्लै राती हिडेर आउनु ?
‘अरु पनि ८–१० जना गाउँबाट दाउरा बोकेर आउँछन् ।’
बहिनीको नाम ?
‘बिमला’
जातचाँही...... ?
‘गुरुङ ।’
आमा –बुवा दुवै हुनुहुन्छ ?
‘दुवै हुनुहुन्छ ।’
बहिनीले पढेको छ कि छैन ?
‘अहँ, छैन ।’
किन ?
आमा–बाबुले पढाएनन् । मेला जानुपर्छ ।
दाजु दिदीहरु छन् कि छैनन् ?
‘भाइ बहिनीहरु मत्र छन् ।’
यसरी हाम्रो आपसमा औपचारिक गफ हुँदा केही समय बितिसकेको थियो । हाम्रो कुराकानीले मलाई ति बहिनीको अवस्थाप्रति निक्कै संवेदनशील बनायो । मैले के पनि अनुभव गरे भने सायद कतै साथीहरुले पर्खी रहेका होलान् उनलाई । त्यसैले खुलस्त भएर इतिवृत्त बताइ रहने समय अहिले उनलाई छैन । पैसा पाए सौदा गर्न यहाँबाट हिँडीहाल्ने छिन् ।
यसैबिच आफ्नो ज्याला(पैसा) साहुनी दिदीले ल्याएर दिएपछि पैसा थापेर ति बहिनी आफ्नो बाटो लागिन्– एउटा प्लाष्टिकको झोलाभित्र नाम्लो लगाएर । म अवाक भएर ति बहिनी गएको हेरिरहे, हेरिरहे..... । केही समयपछि मात्र मलाई सम्झना भयो –ति बहिनीलाई यस्तो जाडोमा एक प्याला तातो चियासम्म पनि पिएर जान अनुरोध गरिन ।
साविक झैँ भोलिपल्ट बिहानै चाडैँ गररेर चिया पिउँन होटलमा झरे अझ आज त ति बहिनीसँग धेरै दुःख, सुखका कुरा गरेर उनको हालको अवस्थाप्रति सहानुभूति दिने मनसाय थियो तर त्यो बिहान उनको उपस्थिति भएन । यसरी नै केही दिन बितेर गए तर ति बहिनी दाउरा लिएर आइनन् ।
निकैदिन भइसक्यो ति बहिनीलाई देख्न छाडेको । साच्छु कतै बिरामी त भइनन् ?.. हुनसक्छ मेलाको चापले गर्दा यता आउन नभ्याएकी होली । केही फुर्सद भएपछि अवश्य नै दाउराको भारी लिएर आउने छिन् । किनकी गाउँघरमा एकोहोरो मेलापात गर्दा– गर्दा शहर बजारको रमझम हेर्न पनि त उनलाई चाहना हुँदो हो ।
सोचाइहरुका तरङ्गसँगै एउटा यस्तो पनि सोचाइ आउँछ – दिनरातको कठोरतम परिश्रमका बावजुत पनि एकसरो राम्रो लुगा लगाउन र दुई छाक पेटभरि खान नपाउँदा कतै गाउँघरका फटाहहरुको चंगुलमा परेर सुन्दर भविष्यको काल्पनिक संसार प्राप्तिको खातिर बम्बैजस्तो महानगरीका भव्य महलहरुको कोठी त सजाउन पुगिनन् ।
उनलाई के थाह कि यस संसारमा आफ्नो स्वार्थपूर्तिका लागि मानिसहरु मानिसको स्तरबाट झरेर कति निच, कति बेइमानी काम गर्छन् भन्ने ? हुनसक्छ गरिबीनै उनको जीवनको अभिशाप बनेर आएपछि कतै त्यही मानसिकताले गर्दा उनको मन मस्तिष्कमा विक्षिप्तता त आएन ? अनि आत्महत्या जस्तो जघन्य अपराध गर्न त विवश भइनन् ?
अहिले मानिसहरुका आ–आफ्नै किसिमको संसार छ । उनीहरु आ–आफ्नै कर्मरुपी नाउँ खियाउँदै आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढीरहेछन् । केही ऐस आराम जीन्दगी साथ सुरा र सुन्दरी एकै साथमा लिएर रमाइ रहेछन् भने केही पैसा नै मेरो प्राण हो भन्ने सोची आत्मालाई बन्धक राखी पेटमा पेटारी कसेर पैसा कमाउन तिर लागिरहेछन् । कोही पैसाकै लागि जघन्य अपराध गरिरहेछन् ।
तर, भानुपथको सडकमा दाउराको भारी बोकेर हिड्ने दाउरेहरु पापी पेटको लागि सडक सङ्घर्ष गर्दैछन् तर मलाई ति कुनै कुराहरुको मतलब छैन । चाहे जे सुकै होस्, यो इलाम बजारका मानिसहरुका कोलाहलपूर्ण गुञ्जित ध्वनि, त्यो चियाबारीका एकान्तप्रिय हरियाली दृष्य अनि त्यो भञ्ज्याङ डाडाँको सेरोफेरो बिच मेरो मन मस्तिष्कले तिनै बहिनी जसले डडाँल्नुमा दाउराको भारी थाप्लोमा सुरक्षितसाथ नाम्लो अड्याएकी एक हातमा प्लाष्टिकको झोला झुन्ड्याएकी प्रतिविम्ब अनि आँखा ।।
योगेन्द्रबहादुर सुब्बा