२०७८ साल कार्तिक ७ गते अाईतबार

कांग्रेसका क्षेत्रीय प्रतिनिधिको घाँटी रेटी हत्या

न्युजलय २७ असोज २०७८, बुधबार १०:०२ मा प्रकाशित
रोल्पा । रोल्पामा नेपाली कांग्रेसका स्थानीय नेताको घाँटी रेटेर हत्या भएको छ । कांग्रेसको क्षेत्रीय प्रतिनिधिसमेत रहेका रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढाको आफ्नै घरमा सोमबार राति घाटी काटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

घरमा एक्लै रहेका बुढाको मंगलबार बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोडेर हर्दा हत्या भएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा हत्या नै भए पनि कसले किन हत्या गरेको भन्ने अझैसम्म खुल्न सकेको छैन । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी सुवेदी नेतृत्वको प्रहरी पुगेर अनुसन्धान गरेको छ । घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ ।

श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएका थिए । गत साउन २३ गते सम्पन्न नेपाली कांंग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएको कांग्रेस रोल्पाका कार्यबाहक सभापति किशोर आचार्यले बताए ।