जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइमा ध्यान नदिएपछि स्थानीय बासिन्दाले मेयरको घर अगाडि फोहोर फालेर विरोध जनाएका छन्।
आइतबार(आज) बिहानै स्थानीय बासिन्दा र जनप्रतिनिधिले मेयर लालकिशोर साहको घर अगाडि फोहोर फालेका हुन्। फोहर व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा सुनवाइ नभएपछि स्थानीय र जनप्रतिनिधले मेयर साहको घर अगाडि फोहोर फालेको बताएका छन्।
फोहर व्यवस्थापनमा मेयरले वास्ता नगरेपछि बाध्य भएर स्थानीय बासिन्दासँगै आन्दोलनमा उत्रिएको जनकपुरधाम–७ का वडाध्यक्ष जानकीराम साहले बताए।
मेयर साहको घर अगाडि फोहोर फाल्दा प्रहरीले रोकेपछि उनीहरू नगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन्।