काठमाडौं । निर्वाचन आयोगमा १५ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन् । तीमध्ये १० दलले प्रतिनिधिसभा निर्वाचन घोषणा अघि र पाँच दलले घोषणा पछि निवेदन दिएका हुन्।
कागजात पूरा गर्ने दलको निवेदन स्वीकृत गरिनेछ। हाल धरानका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी, डा. सुरेन्द्र भण्डारीको नेपाल नागरिक पार्टी, दिनेशराज प्रसाईँको गतिशील लोकतान्त्रिक पार्टी र हिराप्रसाद सोतीको राष्ट्रिय जेनजी पार्टी नेपाल लगायतका दलले दर्ता निवेदन दिएका छन् ।
हाल आयोगमा १२४ दल दर्ता भएका छन्। नयाँ दल दर्ता गर्न संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार विधान, नियमावली, घोषणापत्र, झण्डा, लोगो, चुनाव चिन्ह, पदाधिकारीको विवरण, आय–व्ययको स्रोत र नागरिकता प्रतिलिपिसहितका कागजात आवश्यक हुन्छ।
आयोगले निर्वाचन प्रयोजनका लागि कात्तिक २८ गतेदेखि दल दर्ताको सूचना प्रकाशित गर्नेछ र मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता खुला हुनेछ। समानुपातिक प्रणालीमा सहभागी हुन चाहने दलले सो अवधिभित्र दर्ता प्रमाणपत्र लिनुपर्नेछ।
यसैबीच, निर्वाचन वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलहरूसँग संवाद थालेकी छन्। प्रमुख दलहरूले निर्वाचन सुरक्षाको सुनिश्चितता र न्यायिक स्पष्टता माग गरेका छन्।