काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेतृत्वमा आउने इच्छा सार्वजनिक गरेका छन् । उनले प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा शुभकामना दिँदै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन आह्वान गरेका छन्।
पूर्वराजा शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन्।
‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ।’
देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ। तर, उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन्।
राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ। त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ। त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन,’ उनको भनाइ छ। उनी भन्छन्, ‘हाम्रो इतिहासलाई नास गरेर, पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ। विगतका कमी कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्चाएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्।’
अहिले देशको इतिहास मेटिँदै गएको र नेपालका होनहार जनशक्ति देशबाट बाहिरिँदै गएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेका छन्। नेपालको पद्धति, नीति र प्रणाली पनि सही नभएको बताएका छन् । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने पूर्वराजा शाहको भनाइ छ।
व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा भएको पूर्वराजा शाहको भनाइ छ।