काठमाण्डौ । काठमाण्डौ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एक दिनमा साढे पाँच सय उडान भएका छन् ।आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलले जानकारी दिएको छ ।
आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान र दुई सय २१ अवतरण भएका छन् ।
अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाण्डौ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् ।
सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप बढेको हो । यसअघि अघिल्लो वर्ष दशैँमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए ।